काठमाडौं, ३१ असोज । भोटेकोशी बाढीबाट घरमा क्षति पुगेको ३,०६७ परिवारमध्ये २५ प्रतिशत आफ्नो पुरानै थातथलोमा बस्न चाहेका छन् ।
राष्ट्रिय योजना आयोगले शुक्रबार प्रकाशित गरेको घरपरिवार तथा प्रतिष्ठान सर्वेक्षणको प्रारम्भिक नतिजाअनुसार भविष्यमा स्थायी बसोबासबारे सोधिएकोमा ७९७ (२५.९९ प्रतिशत) परिवारले बाढी अघिकै स्थानमा बस्ने चाहना व्यक्त गरेका हुन् ।
त्यस्तै, ५६५ (१८.४२ प्रतिशत) परिवारले जिल्लाभित्र आफ्नै स्वामित्वको अर्को जग्गामा बस्ने चाहना व्यक्त गरेका छन् भने १५९ (५.१८ प्रतिशत) परिवारले देशभित्रको आफ्नै स्वामित्वमा रहेको जग्गामा बस्ने विकल्प रोजेका छन् ।
सरकारले जग्गा उपलब्ध गराएमा सो स्थानमा बस्न चाहने परिवारको संख्या ९३९ (३०.६२ प्रतिशत) रहेको छ । त्यसैगरी, सरकारले सामूहिक आवासको व्यवस्था गरेमा सो स्थानमा बस्न चाहने परिवार ५९० (१९.२४ प्रतिशत) छन् । १७ घरपरिवारले भने भविष्यको स्थायी बसोबासको बारेमा केही बताएनन् ।
आयोगको प्रतिवेदनअनुसार क्षति भएको भवन संरचनाले ५४.६५ हेक्टर जमिन चर्चेको देखिन्छ । आफ्नै स्वामित्वमा घर भएको जग्गामा रू. १३ अर्ब २६ करोड बराबरको क्षति र भवन निर्माण लागत रू. ११ अर्ब ९५ करोड रहेको देखिन्छ ।
प्राप्त प्रारम्भिक विवरण विश्लेषण गर्दा ३,६१० परिवारको ५०७.९७ हेक्टर जमिनमा क्षति पुगेको र जग्गा जमिनमा करिब रू. ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको छ । त्यसैगरी, लगाइरहेको बालीमा करिब रू. २३ करोड २१ लाख (२,९५१ घरपरिवार), भण्डारण गरिएको खाद्यान्नमा करिब रू. १० करोड ४१ लाख (१,८७६ घरपरिवार) र पशुपन्छी तथा माछापालनमा करिब रू. २१ करोड ४२ लाख (१,०११ घरपरिवार)
बराबरको क्षति पुगेको देखिन्छ ।
त्यस्तै, घरपरिवारले पालेका ठूला जातका पशु ६६४, साना जातका पशु ४,६०१, पन्छी (कुखुरा/हाँस लगायत) ६३,६३३ र माछा २४,५०८ के.जि. नष्ट भएको देखिन्छ ।
साथै, १,११५ घरपरिवारका १,४२३ साना ठुला तथा दुई पाङ्ग्रे/चार पाङ्ग्रे सहितका सवारी साधनमा रू. १ अर्ब २४ करोड र २,३३० घरपरिवारका नगद, बहुमूल्य, साँस्कृतिक तथा पुरातात्विक वस्तुमा रू. ५.०२ अर्ब बराबरको क्षति भएको पनि सर्वेक्षणले देखाएको छ ।
व्यवसाय/प्रतिष्ठानतर्फ भएको क्षतिलाई हेर्दा बाढीबाट प्रभावित ४ जिल्लामा १,६३८ व्यवसाय/प्रतिष्ठानमा क्षति पुगेको देखिन्छ । जिल्लागत रुपमा हेर्दा नुवाकोटमा ९६२, रसुवामा ४१६, धादिङमा २४१, गोरखामा १९ वटा व्यावसायिक प्रतिष्ठान तथा उद्योग व्यवसाय प्रभावित भएका छन् ।
क्षति भएका व्यावसायिक प्रतिष्ठानको मुख्य आर्थिक क्रियाकलापलाई विश्लेषण गर्दा थोक तथा खुद्रा व्यापार गर्ने व्यवसाय ७७४ (४७.२५ प्रतिशत), आवास तथा खाद्य सेवा ३३७ (२०.५७ प्रतिशत), कृषि, वन तथा मत्स्यपालन १६६ (१०.१३ प्रतिशत), अन्य सेवा प्रदायक १३६ (८.३ प्रतिशत) र बाँकी अन्य प्रकारका आर्थिक क्रियाकलाप गर्ने व्यवसाय/प्रतिष्ठान रहेको देखिन्छ ।
