नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको भारतको अडान

काठमाडौं, २१ कात्तिक । भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ।

बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो।

पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कुनैपनि पूनरावलोकन नगरेको स्पष्ट पारे ।

उनका अनुसार भारतले आफ्नो नयाँ नक्सा भारतको सार्वभौम भूमिलाई मात्रै उल्लेख गरेको छ ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले नेपालसँगको सिमा विवाद वार्ता तथा सहमतिको माध्यमबाट नै समाधान गर्न सकिने विश्वास दिलाए ।

नेपाल–भारत सम्बन्ध बिर्गान उद्धत रहेका निहित स्वार्थ समूहबाट दुवै देश सतर्क हुनुपर्ने भारतको भनाई छ । यसअघि बुधबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कालापानी नेपाली भूमि भएको उल्लेख गर्दै भारतको एकपक्षीय निर्णय मान्य नहुने बताएको थियो।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here