प्राधिकरणका कार्यकारी निर्देशकबाट विद्युत पूर्वाधार निरिक्षण

२१ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण निर्देशनालयका प्रमुख तथा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल र मध्यम भोल्टेज ग्रिड विकास विभागका निर्देशक अच्युतबाबु घिमिरे सहित मधेश प्रदेशका विभिन्न कार्यालय तथा विद्युत पूर्वाधारहरूको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा मधेश प्रादेशिक कार्यालयमा कार्यालयअन्तर्गत रहेका २३ वटै वितरण केन्द्रका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वितरण प्रणालीको कार्यसम्पादन, सेवा प्रवाह, सञ्चालन तथा मर्मत–सम्भार, राजस्व संकलन, प्राविधिक तथा प्रशासनिक पक्ष, विद्यमान समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले उपभोक्तालाई छिटोछरितो, गुणस्तरीय तथा भरपर्दो विद्युत सेवा उपलब्ध गराउन, मौसमजन्य कारणबाट हुने विद्युत अवरोधलाई यथाशीघ्र समाधान गर्न तथा ग्राहकका गुनासाहरूलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए । मधेश प्रादेशिक कार्यालयका प्रमुख श्री शम्भु कुशियत यादवले कार्यालयको समग्र कार्यप्रगति तथा आगामी कार्ययोजनाबारे जानकारी प्रस्तुत गरे ।

यस अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले ग्रिड महाशाखा तथा वितरण केन्द्रबीच नियमित समन्वय, वितरण लाइनको नियमित मर्मत–सम्भार, हाँगाविँगा कटान तथा अन्य प्राविधिक कार्यलाई निरन्तर सञ्चालन गरी वितरण प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

भ्रमणका क्रममा नवनिर्मित मिटर परीक्षण प्रयोगशालाको उद्घाटन तथा निरीक्षण गरिएको थियो। साथै, मधेश प्रादेशिक कार्यालयमा सञ्चालित ग्राहक सम्पर्क को निरीक्षण गरी ग्राहकका गुनासाहरूलाई शीघ्र सम्बोधन गर्न तथा नेपाल विद्युत प्राधिकरणको हटलाइन नम्बर ११५० बारे व्यापक जानकारी प्रवाह गर्न निर्देशन दिइएको थियो।

त्यसैगरी ढल्केबर–बलगंगा १३२ केभी प्रसारण लाइन चार्ज गरी सञ्चालन परीक्षणको शुभारम्भ गरिएको थियो। निर्माणको अन्तिम चरणमा रहेका बलगंगा तथा सलिमपुर (चैनपुरा) १३२–३३–११ केभी सबस्टेसनको निरीक्षण गर्दै निर्माण तथा परीक्षण कार्य यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन तथा ११ केभी र ३३ केभी वितरण लाइन विस्तार गरी लो–भोल्टेज समस्याको शीघ्र समाधान गर्न मधेश प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुशियत यादवलाई निर्देशन दिइएको थियो।

भ्रमणका क्रममा ढल्केबर ग्रिड महाशाखा प्रमुख सूर्यनारायण मण्डलले ढल्केबर ग्रिड महाशाखा तथा ४००–२२०–१३२ केभी सबस्टेसनको सञ्चालन अवस्था, प्रणाली व्यवस्थापन तथा भारततर्फ भइरहेको विद्युत निर्यात सम्बन्धी जानकारी गराउए ।

उपभोक्तालाई भरपर्दो, सुरक्षित तथा गुणस्तरीय विद्युत सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले देशभरका कार्यालय, सबस्टेसन तथा आयोजनाहरूको नियमित निरीक्षण, अनुगमन तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।