गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने

काठमाडौँ, २८ असार । मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १४ घण्टा लामो वार्तापछि आज बेलुका ५ः०० बजे नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच नौ बुँदे सहमति भएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समेतको उपस्थितिमा पीडित पक्षसँग छलफल भइ सहमति भएको हो । सहमति भएसँगै पीडित पक्ष नेपालीको शव परीक्षण प्रक्रिया अगाडि बढाउन र शव बुझ्न सहमत भएका छन् ।

मुगुको सोरु गाउँपालिका–१ जवलधारा घर भएका नेपालीले यही असोज २५ गते त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए ।

उनको वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा यही असार २५ गते राति निधन भएको थियो । उक्त घटनालाई लिएर पीडित पक्ष आन्दोलित भएका थिए ।

सहमति पत्रमा नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाले मृतक गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

सहमतिपत्रमा घटनाको सत्यतथ्य र निष्पक्ष छानविन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानविन समिति गठन गर्नेछ । उक्त समितिले गठन भएको मितिले सात दिनभित्र आफ्नो प्रतिवेदन सरकारसमक्ष पेस गरि सक्नु पर्नेछ ।

मृतक गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानविन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

यस्तै, घटना घटेको दिन उक्त घटनास्थलको अग्रभागमा खटिएका महानगरका प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्वन गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौँले महानगरपालिकालाई लेखी पठाउने र पछि छानविन आयोगको प्रतिवेदन तथा सिफारिसबमोजिम कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

लामो गृहकार्यपछि जुटाइएको सहमतिअनुसार पीडित परिवारको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गरिएको छ ।

काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ ।

साथै, मृतककी आश्रित छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट आवश्यक प्रबन्ध मिलाइनेछ भने यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नेछन् । महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाटै निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकमसमेत उपलब्ध गराउनेछ ।

त्यस्तै, तत्कालका लागि आवश्यक मानवीय र व्यावहारिक पक्षहरूलाई सम्बोधन गर्दै मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजकिरियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइने सहमति भएको छ।

यससँगै पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोस्टमार्टम)लगायत कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइएको छ ।

मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवं काठमाडौँमा काजकिरिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्धसमेत काठमाडौँ महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख छ ।