११ असोज, काठमाडौं । अविरल वर्षा, पहिरो, ढुङ्गा खस्ने तथा नदी-खोलामा बहाव बढेका कारण देशका प्रमुख राष्ट्रिय राजमार्ग तथा सडक खण्डहरूमा यातायात सेवा गम्भीर रूपमा प्रभावित भएको छ।
सडक विभागले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार धेरैजसो मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकहरूमा एकतर्फी तथा आंशिक रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ। सडक विभागका अनुसार अवरुद्ध सडकहरूमा मेसिन तथा जनशक्ति परिचालन गरी पहिरो पन्छाउने र सडक सुचारु गर्ने प्रयास जारी छ।
पूर्ण रूपमा अवरुद्ध रहेका प्रमुख सडकहरू
पृथ्वी राजमार्ग : धादिङको कृष्णभीर, तिड्याङखानी, बांगे र चालिसे क्षेत्रमा पहिरो जाँदा दुवैतर्फ पूर्ण रूपमा सडक बन्द छ। पानी परिरहेकाले पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ।
नारायणघाट–मुग्लिन सडक: नाम्सी खोला पुल नजिक लेदोसहितको पहिरो खसेकाले सडक अवरुद्ध छ। पहिरो हटाएर बाटो खुलाउन करिब २ घण्टा लाग्ने अनुमान छ।
बीपी राजमार्गः माम्ती, पिप्ले, दाउन्ने(कालोपुल, चारसयबेँसी, कटुञ्जे, चौकीडाँडा लगायतका स्थानमा पहिरो जानुका साथै डाइभर्सन समेत बगेकाले यातायात पूर्ण बन्द छ। निरन्तर वर्षाका कारण आज सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन।
कान्ति राजमार्ग : चपली, तकुर्चे लगायतका क्षेत्रमा पहिरो गएकाले आवगमन ठप्प छ। पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ।
राप्ती राजमार्गः कपुरकोट(खारखोला–टुनीकोट खण्ड हिजो दिउँसो ३ बजेदेखि पूर्ण रूपमा बन्द छ। वर्षा रोकिएपछि मात्र पहिरो हटाउने कार्य सुरु गरिनेछ।
कर्णाली राजमार्ग : गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डका विभिन्न स्थानमा साना(ठूला पहिरो गएकाले सडक अवरुद्ध छ। पहिरो पन्छाउने काम भइरहेको छ।
बेसीसहर-चामे सडकः मनाङको नासो गाउँपालिका, खोत्रो क्षेत्रमा लगातार वर्षा र ढुङ्गा खसिरहेकाले सडक बन्द छ। पहिरो हटाउन कठिन भइरहेकाले उपकरणहरू तयारी अवस्थामा राखिएका छन्।
एकतर्फी तथा आंशिक रूपमा सञ्चालित सडकहरू
पूर्वण्श्चिम राजमार्ग : भाइरल डाँडारधानखोलाको पहिरो हटाई दुईतर्फी बनाइए पनि रजैयामा पुनः पहिरो गएकाले हाल एकतर्फी मात्र सञ्चालनमा छ। मध्यपहाडी राजमार्ग ः बागलुङको घोडाबाँधे(हटिया खण्डका विभिन्न स्थानमा पहिरो र ढलेका रुख पन्छ्याएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
सिद्धिचरण राजमार्ग : ओखलढुङ्गा–सल्लेरी, सोलु खोला नजिक सडक भासिएकाले अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ।
कालीगण्डकी करिडोर : बैसेरी शिरुबारीमा वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भए पनि बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी खुल्ला गरिएको छ (लामो दूरीका सवारीलाई अनुमति छैन)।
भालुवाङ–चकचके-लिवाङ सडकः विभिन्न स्थानमा साना सवारीसाधन मात्र सावधानीपूर्वक आंशिक रूपमा सञ्चालन भइरहेका छन्।
तमोर करिडोर (मुलघाट–फिदिम) । छरुवा खोला, नावा खोला, रानीगाउँ क्षेत्रमा नदीको बहाव घटबढ अनुसार यातायात प्रभावित भइरहेको छ।
सडक विभागले निरन्तर वर्षाका कारण पहिरो जाने, ढुङ्गा खस्ने, सडक भासिने र नदीरखोलामा बहाव अचानक बढ्ने जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न अनुरोध गरेको छ। विशेष गरी पूर्ण रूपमा बन्द रहेका सडक खण्डहरूमा यात्रा नगर्न र एकतर्फी वा आंशिक सञ्चालनमा रहेका सडकहरूमा अत्यन्त सावधानी अपनाउन आग्रह गरिएको छ।
