०५ मंसिर, काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिए । मन्त्री पोखरेलका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन्। निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ।
ुअब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ। तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नु भएको छ, उनले पत्रकार सम्मेलनमा भने । एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको पनि उनले बताए । तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो। कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुंगिन बाँकी छ, मन्त्री पोखरेलले भने ।
उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई थर्ड पार्टी इन्टरफेरेन्सका रूपमा बुझेको थियो। तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए । राज्यले गर्ने काम आफैं गर्छ। देशको कानुनअनुसार काम हुन्छ। त्योभन्दा बाहेक हामीले केही हस्तक्षप गर्दैनौं भनेर उहाँहरूलाई जानकारी गरायौं। त्यसमा उहाँहरू सकारात्मक हुनुभयो, उनले भने । सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको उनको भनाइ छ।
एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।
