प्याजको मूल्य बढेको बढै, प्रतिकिलो १ सय ८० रुपैयाँ

काठमाडौं, १ मंसिर । नेपालमा प्याजको मूल्य आकासिएको छ ।

कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार पछिल्लो १५ दिनको मात्रै तुलना गर्ने हो भने प्याजको मूल्य ६० रुपैयाँ भन्दा धेरै बढेको छ ।

आइतवार कालीमाटी फलफूल तथा तरकारी बजारको खुद्रा पसलमा प्याजको न्यूनतम् मूल्य प्रतिकेजी १ सय ७० रुपैयाँ रहेको छ । त्यस्तै अधिकतम् मूल्य प्रतिकेजी १ सय ८० रुपैयाँ रहेको छ ।

खासगरि आफ्नो स्थानिय उत्पादन नहुनु र भारतबाट प्याजमा प्रतिबन्ध लगाएको कारण प्याजको मूल्य अतिधेरै बढेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका उप निर्देशक विनय श्रेष्ठले बताए ।

‘हाम्रा स्थानिय उत्पादन शुन्य जस्तो नै छ, हामी पुर्ण रुपमा भारतमा नै निर्भर छौं’ उनले भने, ‘त्यसमाथि हाल भारतमा पनि प्याजको मूल्य अत्याधिक बढेको कारण भारतबाट अन्य देशमा प्याज निर्यात गर्न रोक लगाईएको छ, यसकारण पनि प्याजको मूल्य बढेको हो ।’

दशैं सकिए संगै प्याज तथा अन्य तरकारीहरुको मूल्य सामान्य होला भन्ने सबैको अनुमानलाई महङ्गीले झट्का दिएको छ । भारतबाट प्याज निर्यातमा गरिएको प्रतिबन्धको कारण नेपालमा प्याजको मूल्य अच्काली बढेको हो ।

प्याजको मूल्य पछिल्लो ५-७ वर्ष यताकै सबैभन्दा धेरै बनेको छ । र यसको मूल्य घट्ने कुनै संकेत नदेखिएको उप निर्देशक श्रेष्ठले बताए ।

‘प्याजको मूल्य अस्वभाविक रुपमा नै बढ्को बढै छ, चीनबाट प्याज आउँदा पनि यसको मूल्यमा कमी आएन’ उनले भने, ‘अझै केही समय प्याजको मूल्य घट्ने कनै संकेत देखिएको छैन् ।’

१ सय ८० रुपैयाँ कालीमाटीमा हो, तर बाहिर प्याज प्रतिकेजी २०० रुपैयाँ सम्म बिक्री भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here