दुई दशकपछि नेपाल बैंकका शेयरधनीलाई लाभांश

काठमाडौं, २ कात्तिक । लामो समयदेखि खराब ऋणका कारण थलिएको सरकारी स्वामित्वको नेपाल बैंकका शेयरधनीले लाभांश पाउने भएका छन् ।

बैंक सञ्चालक समिति बैठकले २३ वर्षपछि लाभांश वितरण गर्ने घोषणा गरेको हो। बैंकले चालु आर्थिक वर्षमा २५ प्रतिशत लाभांश, १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

बैंकले दुई दशक भन्दा बढी समयदेखि लाभांश दिन सकेको थिएन । विगतको वर्ष देखिनै बैंक नाफामा रहेको भएपनि सञ्चित नोक्सानीका कारण उसलाई लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाएको थियो। उक्त नोक्सानी पूर्ति गरेसँगै बैंक लाभांश वितरण गर्न योग्य भएको हो।

बैंक सञ्चालक समितिको २४ औं बैठकले बैंकको एफपिओ बिक्रीपछि कायम भएको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँबाट १५ प्रतिशतका दरले एक अर्ब ४७ करोड १६ लाख ७२ हजार २०० रुपैयाँको बोनस र ९८ करोड ११ लाख १४ हजार ८०० रुपैयाँ नगद लाभांश गरि कूल दुई अर्ब ४५ करोड २७ लाख ८७ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here