महानगरको ३८ औं कार्यपालिका बैठकः युनाइटेड बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा

काठमाडौं, ३ मंसिर । वडा स्तरमा २५ औं महानगर दिवस मनाउनेलगायत बिभिन्न प्रस्तावमा निर्णय गर्दै महानगरको ३८ औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।

मंगलबार महानगरको केन्द्रीय कार्यालय जे. डि. ए. कम्प्लेसको सभा कक्षमा सम्पन्न बैठकले प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा ‘२५ औं महानगर दिवस मुल समारोह समिति’ गठन गरेको छ । बैठकले वडा ३१ मा निर्माण सम्पन्न भएको पञ्चकुमारी सामाजिक गुठीको नक्सा स्वीकृत दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ ।

बैठकका अध्यक्ष एवं महानगरका प्रमुखले बैठकमा यस सम्बन्धि जानकारी दिँदै भने ‘यस अघि धार्मिक संरचना निर्माण गर्दा नक्सा स्वीस्कृत गर्ने परम्परा थिएन । तर, यस्ता संरचना महानगरको अभिलेखमा आउन जरुरी थियो । त्यसैले हामीले धार्मिक तथा सामाजिक संघ संस्थाको संरचना निर्माण गर्दा नक्सा स्वीकृत गर्नु पर्ने र संरचना निर्माण सम्पन्न भएपछि भवनको नक्सा स्वीकृत गर्दा लागेको दस्तुर फिर्ता गर्ने नीतिगत व्यवस्था गरेका छौं ।’

बैठकले वडा २९ मा सञ्चालित युनाइटेड बहुउद्देश्यीय सहकारीलाई ‘समस्याग्रस्त सहकारी’ घोषणा गरेको छ । २०६४ सालमा दर्ता भएर चलेको सहकारीका सञ्चालक २०७४ सालबाट सम्पर्क बिहिन भएका छन् ।

महानगरको प्रशासन बिभागका प्रमुख नमराज ढकालकाअनुसार १५१ जना सञ्चालक रहेको सहकारीका सञ्चालक भागेपछि बचतकर्ताले महानगरमा निवेदन दिएका थिए । यस अघि सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्री परिषद्मा जानु पथ्र्यो । अहिले यो अधिकार नगर कार्यपालिकामा आएको छ । यही व्यवस्थाअनुसार निर्णय भएको, ढकालले जानकारी दिनुभयो । महानगर कार्यक्षेत्र बनाएर काम गर्ने १ हजार ८४८ सहकारी छन् ।

काठमाडौंलगायत देशका बिभिन्न स्थानमा आयोजना हुने १३ औं साफ खेलकुदका सम्बन्धमा छलफल गर्दै बैठकले वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठको अध्यक्षतामा राजस्व, वातावरण, सूचना तथा सञ्चारसहित सम्बद्ध बिभागका अधिकारीसहितको ७ सदस्यीय समिति गठन गरेको छ ।

खेलाडी तथा बिशिष्ट पाहुनाको स्वागतका लागि स्वागत द्वार निर्माणमा समन्वय गरिदिने, होर्डिङ्, डिजिटल बोर्ड र महानगरका सञ्चार माध्यमबाट खेलकुद सम्बन्धि सूचना तथा जानकारी प्रसारण व्यवस्था मिलाइदिने, खेल स्थानमा घुम्ती शौचालय, एम्बुलेन्स र दमकल तैनाथ गर्ने, सडकका खाल्टाखुल्टी पुरिदिनुपर्ने, खेलकुदलाई सहरका बिभिन्न स्थानमा अवलोकन गर्ने व्यवस्था मिलाउने, सरसफाइलगायतका काम गरिदिन महानगरलाई महानगरलाई पत्र प्राप्त भएको प्रबक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

काठमाडौंमा गुड्ने २० बर्ष अवधि पूरा भएका सवारी साधन बिस्थापन गर्ने क्रममा यातायात व्यवस्था बिभागले माग गरेको रायमा बैठकले यसरी बिस्थापन हुने सवारी साधनका सट्टामा ल्याइने सवारी साधन धेरै मानिस अट्न सक्ने, पेट्रोल डिजेलको सट्टा बिजुलीबाट चल्न सक्ने खालको हुनु पर्ने राय दिने निर्णय गरेको छ ।

त्यस्तै महानगरलाई आश्रित मानिसमुक्त सहर बनाउने अभियानलाई प्रभावकारि बनाएर सञ्चालन गर्ने, मानव सेवा आश्रमसँगको सहकार्य थप २ बर्षका लागि नविकरण गर्ने लगायतका निर्णय गरेको छ, प्रबक्ता डंगोलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here