दोस्रो बजारमा शेयर लगानी गर्दा के हेर्ने?

नेपाली सेयर बजार केही वर्षदेखि निरन्तर ओरालो लाग्दै आएको छ । कतिपय अवस्थामा मूल्य घटेको छ, लगानी गर्ने बेला यही होे भनेर सेयर किनेका लगानीकर्ताहरु त्यसपछि बजारले पुनः वियरिस प्रवृत्ति समातेपछि छक्क मात्रै परेका छैन, चिन्तित र हैरान पनि छन् ।

नेपालमा अझै पनि सेयरबजारमा कसरी, कतिबेला र कति रुपैयाँ लगानी गर्दा उपयुक्त हुन्छ भनेर परामर्श दिने व्यक्ति वा संस्थाको कमी छ । त्यसैले हामी यहाँ दोस्रो बजार अर्थात सेकेण्डरी मार्केटमा शेयर किनबेच गर्दा के के कुरामा ध्यान पुर्याउनु पर्छ भन्ने बारे सुझाव प्रस्तुत गरेका छौं ।

  • धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल मार्फतमात्र धितोपत्र खरीद बिक्री गर्नुहोस् ।
  • कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • पत्रपत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् ।
  • कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशील सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।
  • धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउनु पर्छ । यस्तै, आफुले दिएको खरीद बिक्री आदेशको प्रमाण लिन तथा खरीद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने ब्यवस्था रहे अनुसार रकम र प्रमाणपत्र बुझ्न र बुझाउन सजग रहनुहोस् ।
  • खरीद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरुन्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरण (ब्ल्यांक ट्रान्सफर) मा राख्नु भएको छ   भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाणपत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर नगुमानुहोस् ।
ध्यान दिनुपर्ने अन्य कुराहरुः
  • धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नविर्सनुहोस् ।
  • धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।
  • धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here