साहसिक खेलप्रेमीको उत्कृष्ट गन्तव्य बन्दै पोखरा,स्काइड्राइभमा लोभिँदै पारखी

पोखरा, ४ मंसिर । पोखरा सुन्दर शहरका रूपमा विश्वभर प्रसिद्ध छ । तालतलैया हिम शृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने क्षमता पोखरासँग छ ।

यसका अतिरिक्त साहसिक खेलको शहरका रूपमा पनि पोखराले उचाइ लिँदैछ । प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, स्काइड्राइभ, क्यानोनिङ, जिप फ्लाएर, बन्जी जम्प, र्‍याफ्टिङ, कायाकी बोटिङजस्ता खेलले समेत पछिल्लो समय साहसिक खेलप्रेमीको उत्कृष्ट गन्तव्य पोखरा बन्दै गएको छ ।

अहिले पोखरामा साहसिक खेलमध्येको एक स्काइ ड्राइभिङ मङ्गलबारबाट पोखरामा शुरु भएको छ । काठमाडौँ एक्स्पलोर हिमालय नामक कम्पनीले सञ्चालन गरेको यस खेललाई पोखरा स्काइड्राइभ २०१९ नाम दिइएको छ । मङ्गलबार मात्र १० नेपालीले स्काइ ड्राइभिङ गरेको कम्पनीले जनाएको छ ।

साहसिक खेलमा ३० प्रतिशतको जोखिम रहने भए पनि डरभन्दा माथि राखेर खेलप्रेमीहरुले आनन्द लिने गरेका छन् ।

पूर्वी नेपालको इटहरीबाट स्काइ ड्राइभिङलगायतका अन्य पाँच खेलको प्याकेजसहित पोखरा भ्रमणमा आउनुभएका अनुपमले पोखरामा विशेषगरी हटएयर बेलुन र स्काइड्राइभजस्ता साहसिक खेलले थप लोभ्याएको बताए।

हेलिकप्टरबाट प्यारसुटको सहायताले माछापुच्छ्रेलाई पृष्ठभूमिमा राखेर बादल माथिबाट ‘ग्राउण्ड’ हामफाल्नुको मजा शब्दमा उतार्न नसकिने उनको अनुभव छ ।

उनीसँगै मङ्गलबारनै पूर्व मिस नेपाल सुविन लिम्बूले पनि स्काइड्राइभ गरेका थियो । जुम्लाबाट साहसिक खेल खेल्नकै लागि आएकी ज्योति हमालले पनि स्काइड्राइभको मजा लिए ।

“यसले बेग्लै अनुभूति दिन्छ, यसभित्र उत्पन्न डरभित्रको आनन्दनै साहसिक खेलको विशेषता हो । साहसिक खेलले स्वयंलाई मूल्याङ्कन गर्न पनि सहयोग पुर्‍याउँछ ।” साहसिक खेलका लागि आत्मविश्वास र आत्मबल दुवै आवश्यक हुने उनको अनुभव छ ।

मङ्गलबार मात्रै १० मध्ये चार महिला यस खेलमा सहभागी भए । यसले पछिल्लो समय साहसिक खेलमा महिला सहभागिता बढ्दै गएको अनुमान गर्न सकिन्छ । भ्रमण वर्षलाई सफल पार्न र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि यस्ता साहसिक खेलका गतिविधिले भूमिका निर्वाह गर्ने नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी विप्लव पौडेल बताउँछन् । स्काइ ड्राइभिङ गर्ने साहसिक खेल पारखीबाट पोखरालाई चिनाउन थप मद्दत पुग्ने उनको विश्वास छ ।
बञ्जी जम्पमा जम्मा तीन सेकेण्डको ‘फ्रि फल’ हुन्छ भने स्काइ ड्राइभिङमा १५ सेकेण्ड जतिको फ्रि फल हुने भएकाले पनि साहसिक खेल पारखीको लागि यो रोजाइमा पर्दै गएको छ ।

यस खेल खेल्नका लागि नेपालीले ९० हजार रुपैयाँ र विदेशीले एक हजार अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । सन् २००८ बाट परीक्षण र २०१३ बाट व्यावसायिक उडान गर्न थालिए पनि नेपाली दक्ष जनशक्तिको अभावका कारण र आर्थिकरूपमा पनि महँगो भएकाले त्यति फस्टाउन भने सकेको छैन ।

कम्पनीका महाप्रबन्धक अनुज पाण्डेले १० नेपालीसहित १६० ले यो याममा स्काइड्राइभ गर्ने बताए । पोखराको पामे क्षेत्रमा रहेको एभिया क्लबको हवाई खेलकूद अभ्यास मैदानमा भएको खेलमा १३ विदेशी विज्ञले उडान र जम्प गराइरहेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here