१४ सय महिलाले पाए उद्यमशिल कर्जा, ९२ करोड ७ लाख रुपैयाँ ऋण लगानी

काठमाडौं ७, मंसिर । गत असोजसम्म करिब १४ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम अन्तर गत असोजसम्म करिब १३ सय ९५ महिलाले सहुलियत दरको कर्जा पाएका हुन ।

सहुलियतपूर्ण कर्जाका लागि सरकारले ल्याएका सात प्रकारका ब्याज अनुदानसम्बन्धी कार्यक्रममध्ये महिला उद्यमशील कर्जा अरूभन्दा धेरै प्रभावकारी देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजसम्म कुल १३ सय ९५ महिला उद्यमीको नाममा कुल १ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत भएको छ । जसमध्ये ९२ करोड ७ लाख रुपैयाँसम्म लगानी भइसकेको छ ।

यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपैयाँसम्म सहुलियत दरको ऋण पाउने व्यवस्था छ । यही व्यवस्थाको फाइदा उठाउन यसअघि सञ्चालनमा रहेका उद्योग व्यवसायले पनि महिलाको नाममा ऋण लिने बढेको बैंकरहरू बताउँछन ।

राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । कार्यविधिमा व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा गरी सात किसिमको कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था ल्याएको थियो ।

तीमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ब्याज अनुदानको व्यवस्था ०७३ मै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here