विदेशी लगानी १५९ प्रतिशतले बढ्यो, तीन महिनामा ४ अर्ब आयो

काठमाडौं ७, मंसिर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ४ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्षको तुलनामा एफडीआई १ सय ५९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

गत वर्षको सोही अवधिमा १ अर्ब ५४ करोड रुपैयाँ बराबर विदेशी लगानी भित्रिएको थियो ।

राजनीतिक स्थिरतासँगै नीतिगत सुधार भएको, व्यवसाय गर्ने वातावरणमा सुधार भएको (डुइङ विजनेश) भएको लगायत कारण विदेशी लगानी बढेको जानकारहरु बताउँछन् ।

‘आयातमा आएको संकुचन, सरकारको वाह्य ऋण परिचालनमा भएको वृद्धि, प्रत्यक्ष बैदेशिक लगानीमा भएको वृद्धि र नेपालीको वैदेशिक भ्रमण व्यय घटेका कारण शोधनान्तर बचतमा छ,’ मौद्रिक नीतिको त्रैमासिक समिक्षामा उल्लेख छ ।

गत वर्षभरी उच्च दरले घटेको विदेशी लगानी यो वर्षको पहिलो महिनाबाटै निरन्तर बढिरहेको छ । गत वर्ष कुल १३ अर्ब रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो ।

अघिल्लो वर्षको तुलनामा गत वर्षको विदेशी लगानी साढे ४ अर्ब रुपैयाँ कम हो । आर्थिक वर्ष ०७४÷७५ मा कुल विदेशी लगानी १७ अर्ब ५१ करोड रुपैयाँ थियो ।
नेपालमा खासगरी जलविद्युत पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा धेरै विदेशी लगानी भित्रिएको छ  ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाका समष्टिगत आर्थिक तथा वित्तीय परिसूचकले अर्थतन्त्रमा सकारात्मक परिदृश्य देखाएको राष्ट्र बैंकले जनाएको छ ।

मौसमी प्रतिकुलता, वीउ वीजनमा देखिएको समस्या र फौजी किराको प्रकोपका कारण धानको उत्पादन प्रभावित हुने देखिएतापनि विभिन्न प्रकारका सहुलियत, अनुदान तथा कर्जा विस्तारले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

उर्जा उपलब्धतामा सुधार, उत्पादनमूलक उद्योगको क्षमता उपयोगमा वृद्धि, पर्यटक आगमनमा वृद्धि, होटल लगायत पर्यटन पूर्वाधार विस्तार, पुनरनिर्माण कार्यमा निरन्तरता र संघीयता कार्यान्वयनले गति लिन थालेकोले उच्च आर्थिक वृद्धिको प्रवृतिलाई कायम राख्न सहयोग पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here