यस्तो बन्यो लिपुलेक, कालापानी समेटिएर नेपालको नक्सा

काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

रिपोर्टर्स क्लवमा एक कार्यक्रमको आयोजना गरी अभियन्ताहरुले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।

नयाँ नक्सा जारी गर्दै समितिका संयोजक भैरव रिसालले यो नक्सा सुगौली सन्धिले निर्धारण गरेको आधिकारिक नक्सा भएको बताए । अर्का अभियन्ता हिरण्यलाल श्रेष्ठले यो नक्सा भारतले जारी गरेको नक्साको काउन्टर भएको बताए । उनले सबै नेपालीलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य सुवेदीले केही वर्षअघि आफूहरुले पनि अध्ययन गरेर यस्तै नक्सा सरकारलाई पेश गरेको जानकारी दिए । समितिका सहसंयोजक द्वारिकानाथ ढुंगेलले यो मुद्दा अहिले उठाउँदा कसैले सरकारलाई धम्की दिएको समेत आफूले जानकारी पाएको बताए ।

नक्सा तयारबारे जानकारी दिँदै अभियानका प्रा. डा. नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए। ‘डिजिटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं।’

सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए। पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here