साढे तीन दर्जन स्थानीय तहमा अझै पुगेनन् बैंक

काठमाडौं ११, चैत । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य भएपनि साढे तीन दर्जन गाउँपालिकामा अझै बैंक पुग्न सकेका छैनन । अत्यावश्यक पूर्वाधार अभाव हुनुका साथै कमजोर सुरक्षा र स्थानीयको अवरोधका कारण ती स्थानमा बैंक पुग्न नसकेको बैंकर्स संघले जनाएको छ । ०७५ असारभित्र सबै स्थानीय तहमा बैंक पुर्याउन राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको थियो । तर, गत माघसम्म ४२ स्थानीय तह (गाँउपालिका) मा बैंक पुग्न नसकेका हुन ।

राष्ट्र बैंकको तथ्यांक अनुसार कुल ७ सय ५३ स्थानीय तहमध्ये माघसम्म ७ सय ११ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९५ मा पहिले नै वाणिज्य बैंकका शाखा पुगिसकेका थिए । ०७४ चैत दोस्रो साता यो संख्या बढेर ३ सय ९४ पुगिसकेको थियो । बाँकी २ सय ४३ स्थानीय तहमा बैंकहरूले स्वेच्छिक रूपमा शाखा स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । थप १ सय १६ स्थानीय तहमा शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले पछिल्लो पटक ०७४ चैत १४ मा निर्देशन जारी गरेर तीन महिनाभित्र शाखा स्थापना गर्न बैंकलाई निर्देशन दिएको थियो । त्यतिबेला दिएको समय ०७५ असारसम्मको हो । ‘बैंकहरूले आआफ्नो शाखा स्थापना गरी ०७५ असारभित्र सञ्चालनमा ल्याइसक्नुपर्नेछ,’ निर्देशनमा भनिएको थियो, ‘उक्त निर्देशन पालना नभएमा राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही हुनेछ ।’

अत्यावश्यक पूर्वाधार तथा सुरक्षा अभाव, स्थानीय तहको केन्द्र परिवर्तन, स्थानीय पदाधिकारीको स्वार्थलगायत कारणले केही स्थानमा बैंक जान नसकेको संघले बताएको छ ।

समस्या नभएका स्थानमा सबै शाखा खुलिसकेकाले बचेका स्थानमा शाखा स्थापना गर्न केही समय लाग्ने संघले स्पष्ट पारेको छ । केही स्थानमा बैंक बस्ने घर नै नपाइएको र केहीमा स्थानीय पदाधिकारीको स्वार्थ देखिएकाले शाखा स्थापना गर्न समस्या भएको संघको गुनासो छ ।

‘केही स्थानीय तहमा थोरै जनसंख्या छ,’ संघ स्रोतले भन्यो, ‘ती स्थानमा बैंक खोल्नेबारे पनि छलफल गर्नैपर्नेछ ।’ सरकारले स्थानीय तहको खातामा रहेकोमध्ये ५० प्रतिशत रकम बैंक आफैंले चलाउन पाउने सुविधा दिएको छ । यो सुविधा पाएपछि बैंकहरु शाखा खोल्न उत्साहित देखिएका छन् ।

हालसम्म स्ट्यार्र्डर्ड चार्टर्ड बाहेक बाँकी २७ बैंकले स्थानिय तहमा शाखा खोलेका छन् । ती मध्ये सबैभन्दा धेरै शाखा खोल्ने बैंक एनआईसी एसिया हो । अहिले यो बैंक निजी बैंकमध्ये सबैभन्दा धेरै शाखा भएको बैंक बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here