विमल, अन्जन र दिनेश घरेलु मैदानमै हुने सागको दर्शक मात्र !

काठमाडौं, ९ मंसिर । अखिल नेपाल फुटबल संघ एन्फाले कारबाही गरेका खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल गुमाउने भएका छन् ।

कारबाहीमा परेका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुने सागमा सहभागी हुन नपाउने भएका हुन् ।

उनीहरुको स्थानमा राजेश परियार, प्रिजन तामाङ, राजिब लोप्चाङलाई टिममा बोलाइएको छ ।

कुवेतविरुद्धको खेलका लागि भुटान जानुभन्दा ठिक अघिल्लो दिन विमल, अञ्जन र दिनेशले रातभर क्लबमा बिताएको भन्दै कारबाहीस्वरुप टिमबाट हटाइएको थियो ।

त्यसपछि सागका लागि उनीहरुका बारेमा के हुन्छ भन्ने चर्चा भइरहेका बेला टिमका प्रशिक्षक बालगोपाल महर्जनले टिममा रहेका तीन खेलाडीको स्थानमा राजेश परियार, प्रिजन तामाङ र राजिव लोप्चाङलाई बोलाएको बताए। तर यस विषयमा एन्फाले भने आधिकारिक धारणा निकालेको छैन ।

साग फुटबलमा नेपालसहित बंगलादेश र भुटान समूह ‘ए’ मा छन्। भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा परेका थिए। यद्यपी भारतीय टिमले साग नखेल्ने बताइएको छ। नेपालले मंसिर १५ गते उद्‌घाटन खेलमा बंगलादेशसँग खेल्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here