नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने पक्राउ

काठमाडौं,११ मंसिर । नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने ६ जना पक्राउ परेका छन् ।

नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने समूहका ६ जनालाई पैसा सहति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविबन्द घिमिरे रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट १८ लाख ५० हजार नगद, २ सय ९० वटा नागरिकताको फोटोकपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख भएको रजिष्ट्रर २६ थान, दुईवटा हस्ताक्षर नमूना भएको डायरी, अन्य व्यक्तिको नाममा खाता खोल्न फोटो टाँसेको तीन सय थान फारम, १ सय ९५ जनाको बैंक स्टेटमेन्ट बरामद भएको छ।

त्यस्तै, जनता बैंकबाट विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक, काटिएको अवस्थाको ४१ वटा चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको एउटा चेकबुक, एभरेस्ट बैंकबाट विभिन्न व्यक्तिको नकाटिएको २० थान चेकबुक, काटिएको ३ थान चेकबुक समेत बरामद भएको छ।

प्रहरीका अनुसार सुमन काठमाडौंको बुद्धनगर, गोबिन्द सुविधानगर र अन्य युवा कालिमाटी बस्दै आएका थिए । उनीहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी गर्ने, ती व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं रुपैयाँ निकाल्ने गरेको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले पक्राउ परेका युवाले खातावालहरुको सक्कली भिसा कार्डसमेत बनाएर प्रयोगमा ल्याएको देखिएकाले सम्बन्धित बैंकका कर्मचारीहरुको समेत मिलेमतो देखिएको आशंका गरेको छ । प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले बैंकका कर्मचारीको मिलेमतोको आशंकामा अनुसनधान प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here