नुवाकोटमा एक करोड ७१ लाख लगानीमा कृतिम ताल तथा पार्क निर्माण हुँदै

काठमाडौं,१२ मंसिर । नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । हाल टुँडीस्थित पोखरी रहेको स्थानमा एक करोड ७१ लाखको लगानीमा निर्माण हुन लागेको हो ।

तालसहितको पार्क निर्माणले समग्र यहाँको लागि मात्र नभइ मुलुकको लागि पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको अध्यक्ष आशा तामाङले बताए। उनका अनुसार प्रदेश सरकार र स्थानीय सरकारको सयुक्त लगानीमा निर्माण थालिएको पार्कसहितको ताल चरणबद्ध रुपमा निर्माण गरिने भएको छ ।
न्यू मनकामना निर्माण कम्पनीले जिम्मेवारी पाएको पहिलो चरणको संरचना आगामी असारभित्रै पूरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पहिलो चरणमा टुँडीमा रहेको इनारको संरक्षण गर्दै आकर्षक ताल बनाइने छ भने बजेटको सुनिश्चितता पश्चात दोस्रो चरणमा म्यागङको पहिचान बोकेको मानिसले तीर हान्न लागेको शालिक बनाइने तामाङले जानकारी दिए ।

अहिले ताल बनाउन लागिएको स्थानमा सयौं वर्ष पुरानो पोखरीसहितको चउर रहेको छ । त्यसमध्ये चार रोपनी क्षेत्रफलमा फैलिएको ताल बनाउन लागिएको हो । राज्य पुनःसंरचनाको क्रममा साविकका पाँच गाविस बसुञ्चेत, बुङताङ, देउराली, किम्ताङ र सामरीलाई समावेश गरेर म्यागङ गाउँपालिकाको नामाकरण गरिएको थियो । तामाङ भाषामा ‘म्या’ भनेको तीर र ‘गङ’ भनेको तीर खेल्ने चउर रहेको गाउँपालिकाका उपाध्यक्ष शान्ति गुरुङले बताइन ।

उनका अनुसार यस क्षेत्रमा परापूर्वकालमा तामाङ समुदायको पुर्खाले तीर हान्ने प्रतिस्पर्धा गर्ने र उक्त प्रतियोगितमा पश्चिम बागमतीमा पर्ने जिल्लाको सहभागिता रहने गरेको बुढापाका बताउछन् । म्यागङ नामाकरण गरिएको ऐतिहासिकस्थलको संरक्षण गरेर गाउँपालिकाको गौरवको योजनाको रुपमा आकर्षक पर्यटकीयस्थल बनाउन पहिलो प्रथामिकतामा राखिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here