चक्रपथभित्र दुई दिन जोर-विजोर प्रणाली,मालवहाक सवारीलाई प्रवेश निषेध

काठमाडौं, १२ मंसिर । चक्रपथभित्र दुई दिन जोर-बिजोर प्रणाली लागू हुने भएको छ । १३ औं दक्षिण एसियाली खेलकुल (साग) को अवसरमा ट्राफिक व्यवस्थापन गर्न भन्दै दुइ दिन जोर विजोर प्रणाली लागू गर्न लागिएको प्रहरीले जनाएको छ।

सवारी व्यवस्थापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्मेलनमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध र मंसिर १५ गते र २४ गते मात्र जोर विजोर प्रणाली लागू गर्न लागेको बताए ।

जसअनुसार साग उद्घाटनको दिन अर्थात १५ गते बिजोर नम्वरका सवारीसाधन मात्रै संचालन हुने छन् भने समापन हुने दिन २४ गते जोर नम्वर प्लेटका सवारीमात्र संचालन हुनेछन्।

भिभीआइपी र खेलसँग आवद्ध र सञ्चारमाध्यमका सवारी साधनलाई पनि जोरविजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ । खेल अवधिमा सञ्चारमाध्यमका सवारी साधनको पार्किङ स्थान छुट्टै स्थानमा तोकिने छ ।

त्यस्तै ठूला मालवहाक सवारीसाधनलाई चक्रपथभित्र प्रवेश नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ। साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।

त्यस्तै दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकेसम्म प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडक प्रयोग गर्न आग्रह गरेको छ। उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्कीङको व्यवस्था टुडिखेलमा गरिएको छ ।

यसका साथै भारत र पाकिस्तानको खेलाडीलाई हुने जोखिम कम गर्न विशेष सुरक्षा व्यवस्था गरिएको प्रहरीले जनाएको छ । दशरथ रंगशालामा नयाँ राखिएका कुर्सीहरु यदि दर्शकले आक्रोश वा अन्य कुनै किसिमले भाँचेमा त्यसको क्षतीपुर्ती दर्शकले तिर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here