म्यानचेष्टरको विलासी बंगला बेच्दै रोनाल्डो, मूल्य ४८ करोड

यसै सिजनमात्रै रियल मड्रिड छाडेर इटालीको सिरिए क्लब युभेन्टस पुगेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले बेलायतको म्यानचेष्टर शहरमा रहेको आफ्नो घर बिक्री गर्ने भएका छन् ।

म्यानयु छाडेको एक दशकपछि रोनाल्डोले म्यानचेष्टर शहर नजिकै एडर्ली एज भिलेजमा रहेको आफ्नो भव्य बंगला बिक्री गर्न लागेका हुन् ।

युनाइटेडको रंगशाला ओल्ड ट्रफोर्डबाट १५ माइलमात्रै टाढा रहेको पाँच बेडरुम सहितको तीनतले उक्त घरको मूल्य उनले ३२ लाख ५० हजार पाउण्ड अर्थात करीब ४८ करोड नेपाली रुपैयाँ राखेका छन् । तर, आफूले राखैकै मूल्यमा घर बेच्दा पनि यी पोर्चुगिज स्टारले ६ लाख पाउण्ड भन्दा धेरै घाटा बेहोर्नुपर्ने छ । ३३ वर्षीय रोनाल्डोले सन् २००७ मा उक्त घर करीब ३९ लाख पाउण्डमा किनेका थिए ।

इन्टरनेटमा सार्वजनिक भएका उक्त बंगलाको तस्वीरहरुले फर्निचर र सजावटमा रोनाल्डोको गोथिक शैलीको मोह झल्काउँछ । घरको बाँया हिस्साको सजावट अधिकांश कालो रंगको रहेको छ ।

बंगला विलासी सुविधाहरुले भरिपूर्ण रहेको छ । बंगलामा स्विमिङ पुल, ठूलो र अत्याधुनिक भान्छाकोठा, स्टिम रुम, थिएटर रुम र जिम लगायतका सुविधा रहेका छन् । रोनाल्डोले उक्त बंगला सन् २०१३ मा पनि बेच्न खोजेका थिए । त्यतिखेर उनले बंगलाको मुल्य ३७ लाख पाउण्ड राखेका थिए ।

सन् २००८ मा म्यानचेस्टर युनाइटेड छाडेका रोनाल्डोले बंगला बिक्री गर्न लागेको बारेमा कुनै प्रतिक्रिया दिन चाहेका छैनन् ।
(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here