भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने ३१ देशका राजदुतको प्रतिबद्धता

काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई आग्रह गरेका छन्।

मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्थाका प्रमुखहरूलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर नेपाल भ्रमण बर्षलाई सफल पार्न सहयोगको अपिल गरेका हुन् ।

भ्रमण वर्ष-२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरूको सहयोग महत्वपूर्ण हुन भन्दै मन्त्री भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे।

‘नेपाल भ्रमण वर्ष-२०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी आफ्ना नागरिक पठाइदिनका लागि अनुरोध गर्छु’, उनले भने, ‘नयाँवर्ष २०१९ र क्रिसमस नेपालमै मनाउनुहोस्। यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस्।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटनमन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिदै पर्यटनमन्त्रीहरूलाई उपस्थित गराइदिनका लागि पहल गर्न अनुरोध गरे।

उनले नेपाल २०७२ सालको महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट विस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभूकम्पको पीडाबाट उठ्न गर्नुभएको सहयोगप्रति फेरि एकपटक आभार प्रकट गर्दछौं। अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरूको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं।’

मन्त्री भट्टराईले महाभुकम्पबाट भत्किएका नेपालका ८ सय ९१ सम्पदामध्ये ३ सय ८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिए।

बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरूको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्वान गरे। उनले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए। उनले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिदै १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए।

मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्दै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए।

उनले आगामी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए। त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको र लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको जानकारी दिए।

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै अन्तराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेका बताए।

उनले नेपालका नीजि तथा सरकारी वायु सेवा निगम कम्पनीहरूले चाडैं विश्वभरिका आकाशमा निर्वाध उडान भर्ने विश्वास व्यक्त गरे। उनले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिदै आगमी १० वर्ष भित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरूलाई स्वागत गर्दैै विश्वभरि भ्रमण वर्ष–२०२०को प्रबद्र्धनका लागि अनुरोध गरे। नेपाल भ्रमण वर्ष–२०२०का संयोजक सुरज वैद्यले नेपालको पर्यकीय स्थलहरूको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारमो जानकारी दिए।

सहयोगका लागि तयार छौं : राजदूतहरू

कार्यक्रममा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाए। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटकहरूमा चीन दोस्रो रहेको जानकारी दिदै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

उनले भने, ‘नेपाल भ्रमण वर्ष-२०२० सफल बनाउनका लागि प्रबद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ।’ उनले नेपालका अन्तराष्ट्रिय विमानस्थलहरू चिनियाँ कम्पनी निर्माण गरिरहेको भन्दै चिनियाँ कम्पनीहरूले गुणस्तरीय कामसहित समयमै निर्माण सम्पन्न गर्ने बताए।

नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडीलगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here