रिद्धीसिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा,३६ विधामा वितरण हुँदै

काठमाडौं, १८ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धीसिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड कार्यक्रम गर्न लागेको हो ।

महासंघले बुधवार पत्रकार सम्मेलन गरी आगामी शुक्रबार राजधानीको होटल अन्नपूर्णमा दिउँसो ३ बजे एक कार्यक्रमका बीच अवार्ड वितरण गर्न लागेका जानकारी जनाएको छ ।

अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा.राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा “पुरस्कार तथा सम्मानमूल्याङ्कन समिति” गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिए ।

नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्‍याउने व्यक्ति, संघसंस्था तथा फर्म(कम्पनीहरुलाई अवार्डमार्फत् सम्मान गर्दै आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने महासंघले जनाएको छ । साथै प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म-कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुनेछन् ।

विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायीलगायतलाई सम्मान गर्ने महासंघले जनाएको छ ।

निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने महासचिव रोशन दाहालले बताए । निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माणमैत्री ईन्जिनियर पनि सम्मानित हुने महासंघले जनाएको छ ।

यसैबीच महासंघले मंसिर २२ गते आइतबार १२औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरिसहित रक्तदान कार्यक्रम गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here