प्रभु बैंकले नेप्ससँगको सहकार्य तोड्यो,पुराना एटीएम कार्ड नचल्ने

काठमाडौं,२३ मंसिर । प्रभु बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्य तोडेको छ ।

चिनियाँ ह्याकरले नेप्सको प्रणाली कब्जामा लिएर पैसा झिकेपछि प्रभु बैंकले नेप्सलाई छाडेर ‘युनियन पे कार्ड’ सञ्चालन गरिरहेको स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) सँग सहकार्य थालेको हो।

यद्यपि, बैंकले भिसा कार्डसँगको सहकार्य भने जारी राखेको छ । चिनियाँ ह्याकरले कसरी ह्याक गरे भन्ने बिषयमा अझै सही तथ्य बाहिर आएको छैन । यी यस्ता कारणले नेप्ससँगको सहकार्य तोडिएको बैंकको भनाइ छ ।

युनियन पे र भिसा नेटवर्क प्रतिस्पर्धी हुन्। यद्यपी भिसाको भन्दा युनियन पेको सेवा शुल्क कम पर्छ। सेवा शुल्क ग्राहकले तिर्नु नपरे पनि सेवा प्रदायकले तिर्नु पर्छ।

प्रभु बैंकले माघ १ गतेदेखि नयाँ कार्ड चल्ने बताएको छ, जसअनुसार बैंकले पुराना एटीएम कार्ड साट्न ग्राहकसँग अनुरोध गरेको छ । नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। प्रभुले नेप्ससँगको सहकार्य तोडेसँगै अन्य केही बैंकले पनि तोड्ने भएका छन्।

हाल बैंकसँग साढे २ लाख पुराना कार्ड छ, त्यसलाई युनियन पे कार्ड मार्फत रिप्लेस गर्ने बैंकको तयारी छ । बैंकले हाल नयाँ कार्डहरु जारी गरीरहेको छ । युनियन पे कार्ड भारतमा पनि प्रयोग गर्न सकिन्छ ।

अन्य देशमा प्रयोग गर्नका लागि डलर कार्ड बोक्नुपर्ने बताइएको छ । नेप्सले भिजा जस्ता एटीएम कार्ड कम्पनीहरुसँग बैंकहरुलाई इन्टरलिंक बनाउने काम गर्छ, जसलाई स्वीच प्रणाली भनिन्छ ।

यो महंगो प्रणाली हो, त्यसैले बैंकहरुले संयुक्त रुपमा नेप्स सञ्चालनमा ल्याएका हुन् । ग्राहकले एटीम बुथमा कार्ड छिराएपछि त्यसको जानकारी सम्बन्धीत कार्ड कम्पनीमा जान्छ ।

त्यो कम्पनीले नेप्सलाई जानकारी दिन्छ र नेप्से बैंकलाई, त्यसपछि बैंकको सिस्टमले सबन्धीत व्यक्तिको खाता चेक गर्छ र कारोबारको स्वीकृति दिन्छ । त्यसपछि त्यो स्वीकृति नेप्स हुँदै कार्ड कम्पनी मार्फत एटीएम बुथ सम्म जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here