कृषि विकास बैंकको आकर्षक लाभांश प्रस्ताव

काठमाडौं, २४ मंसिर । कृषि विकास बैंकले आकर्षक लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले ६ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई घोषणा गरेको उक्त लाभांश अघिल्लो वर्षको तुलनामा ९ प्रतिशत धेरै हो।

कृषि विकास बैंकले प्रस्ताव गरेको यो लाभांश बाणिज्य बैंकहरु तर्फ तेस्रो धेरै हो । यस अघि नविल बैंकले ३५ र एनएमबी बैंकले ३४ प्रतिशत लाभांश दिएका छन् ।

साथै बैंकले सरकारको अग्राधिकार शेयर वापतको पूँजी ५ अर्ब ४३ करोड पूँजीमा समेत ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ६७ पैसा, प्रतिशेयर नेटवर्थ ३१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.१६ गुणा कायम भएको थियो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ प्रतिशत बोनस र १५. ०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

सरकारको ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ अग्राधिकार शेयर र ९ अर्ब एक करोड ५५ लाख २९ हजार साधारण शेयर गरि बैंकको कूल चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ। ६ प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको साधारण शेयर पूँजी ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार पुग्नेछ।

२०७६ असोज मसान्त अवधीमा १४ अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ३७ करोड रुपैयाँ रहेको छ । कृषि विकास बैंकको आधार ब्याजदर १०.१८ प्रतिशत छ भने स्प्रेड दर ५.२६ प्रतिशत कायम छ । बैंकको कस्ट अफ फण्ड भने ७.३४ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी २३.३३ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here