१ करोड ४० लाखमा बिक्रीमा राखिएको केरा कलाकारले झिकेर खाइदिएपछि…

काठमाडौं। अमेरिकाको मायामी बिचमा एउटा केरा एक लाख २० हजार डलर अर्थात् करिब एक करोड चालीस लाख रूपैयाँ बिक्रीमा राखिएको छ।

यो केरा सुनको हैन है, न हिरामोती जडित नक्कली हो। यो सामान्य खाने केरा नै हो जसलाई भित्तामा टेप टाँसेर अड्याइएको छ।

आर्ट बासेलमा बिक्रीका लागि राखिएको उक्त केराका तीन संस्करण थिए। दुइटा बिकिसकेको जनाइएको छ। अन्तिम संस्करणको यो केराको बोलकबोल १ लाख ५० हजार डलरसम्म पुगेको सिएनएनले लेखेको छ।

प्रदर्शनीस्थलमा भित्तामा टेपले टाँसेर राखिएको सो केरालाई आर्टिष्टले नै खाइदिएपछि अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सो घट्नालाई विभिन्न कोणबाट खोतलेका छन्।

प्रदर्शनीमा उपस्थित सहभागीहरूकै बीचमा एक भोका कलाकर्मीले खाएपछि बाँकी रहेको अंशले पनि सो कलाको ‘परिकल्पना’ लाई जीवित राखिरहेको बताइएको छ। केराको सो कलालाई विश्व व्यापारको प्रतीक तथा पुरानो हाँस्यमाध्यमको रुप दोहोरै अर्थको रुपमा व्याख्या गरिएको छ।

इटालियन आर्टिष्ट माउरिजियो क्याटेलनले कमेडियन नामाकरण गरिएको सो केरा न्यूयोर्कका पर्फमेन्स आर्टिष्ट डेभिड दतुनाले आफू निकै भोकाएको भन्दै कलाकेन्द्रमा खचाखच भरिएका कलाप्रेमीहरु कै सामु खाएका थिए।

सो ग्यालेरीका संस्थापक इम्मानुयल पेरोटिनले माउरिजियोको कला केवल वस्तुको बारेमा मात्र नभई वस्तुहरु विश्वभर कसरी घुम्छन् भन्नेबारेको एउटा परिकल्पना भएको बताए।

त्यो बहुमूल्य केरा किन्ने व्यक्तिले सबैकुरा गुमाइनसकेको बताइएको छ। त्यो केराको आफ्नै आधिकारिकताको प्रमाणपत्र छ र त्यो किन्ने व्यक्तिले त्यसलाई अर्को केराले प्रतिस्थापन गर्नसक्छन्।

‘दतुनाले त्यो सबै सिद्धाएको पनि छैनन् र त्यो केरा भनेको एउटा परिकल्पना हो’ सो ग्यालेरीका निर्देशक लुसी टेरासलाई उद्धृत गर्दै द गार्डियनले लेखेको छ। हाँस्यकलामा प्रख्यात क्याटेलनले सो केरा स्थानीय बजारबाट किनेर ल्याएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here