हायातको बैठकमा तारा गाउँ विकास समितिका अध्यक्षको ‘नोट अफ डिसेन्ट’

काठमाडौं,२५ मंसिर । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको होटल सञ्चालक समितिको बैठकमा तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले कडाइका साथ असन्तुष्टि प्रकट गरेका छन्।

सञ्चालक समितिमा प्रतिनिधित्व, हकप्रद सेयर, लगानी र प्रतिफल लगायतका विषयमा तारा गाउँ विकास समितिको तर्फबाट अध्यक्ष न्यौपानले आफ्नो ६ बुँदे फरक मत प्रस्तुत गरेका हुन् ।

न्यौपानेले सञ्चालक समितिमा विकास समितिको तर्फबाट यसअघि तीन जनाको प्रतिनिधित्व रहने प्रावधान भएपनि पछिल्लो समयमा एक जना मात्रै प्रतिनिधित्व गराएको भन्दै तीन जनाकै प्रतिनिधित्व हुनुपर्ने अडान राखेका छन्।

यसअघि सञ्चालक समितिमा तारा गाउँ विकास समितिका अध्यक्ष-१, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव-१, र समितिका सञ्चालक सदस्य १, गरी जम्मा ३ जनाले होटल सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने प्रावधान थियो।

तर, पछिल्लो समयमा तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा तारा गाउँ विकास समितिको लगानी अनुपात साविकको २२.६७ प्रतिशतबाट घटेर ९.१ प्रतिशत घटेको भन्दै एक जनामा सिमित गराएका थिए। तारा गाउँ विकास समितिमा तीनै जना हुनुपर्नेमा अध्यक्ष न्यौपानेले अडान राखेका छन्।

यसैगरी अध्यक्ष न्यौपानेले तारा गाउँ रिजेन्सी होटल लिमिटेडमा समितिको लगानीको अनुपात साविकको २२.६७ कायम रहनु पर्ने प्रावधानलाई यथावत राख्ने र आफ्नो हिस्साको हकप्रद शेयर प्राप्त गर्न होटल सञ्चालक समितिबाट नेपाल सरकारमा पुनः अनुरोध गर्न लगाउनु पर्ने अडान राखेका छन् ।

यसैगरी तारा गाउँ विकास समितिले तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा गरेको लगानी र प्रतिफलको विश्लेषण गनुपर्ने, होटलको हालको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (डडिए) गर्नुपर्ने अडान अध्यक्ष न्यौपानेले राखेका छन् ।

प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले १८ चैत २०५० मा दिएको निर्देशनको सम्वन्धमा समितिले होटल्सलाई लिजमा दिईएको जग्गाको समय सापेक्ष पुनः मूल्यांकन हुन पर्ने अडान उनले राखेका छन् ।

यस्तै संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्वन्ध समितिबाट पेश भएको तारा गाउँ विकास समितिका सम्वन्धमा अध्ययन अनुगमन सम्वन्धी प्रतिवेदन, २०७५ को कार्यान्वयन हुनु पर्ने र होटल्सको गुरुयोजनामा उल्लेखित सांस्कृतिक केन्द्र लगायतको कार्ययोजना कार्यान्वयनको व्यवस्था शिघ्र कार्यान्वयन गर्नु पर्ने अडान राखेका छन् । बैठकमा हायात होटलका प्रबन्ध निर्देशक सुरेशलाल श्रेष्ठ, सिइओ अरुणकुमार सराफ, सञ्चालक समिति सदस्य कमलादेवी श्रेष्ठ लगायत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here