एमजी जेडएस इभी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं, २६ मंसिर । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्सले नक्साल शोरुमबाट नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको छ ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ ।

एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडी रु ४९,९९,००० शुरुवाती मुल्यमा उपलब्ध छ ।

पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने, ‘हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहनेछ ।’

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो । विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here