म धनी परिवारकै मान्छे हुँ,सडकमा सुत्यो भन्दैमा हेप्नी…

काठमाडौं,१ पुस । काठमाडौँ उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चावहिल क्षेत्रमा उद्धार अभियान चल्यो ।

गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।

साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पेटी, कोही सटर लगाएको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए ।

मित्रपार्क नजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनीले मानिन् । जसरी पनि लैजाने भनेपछि उनी जङ्गिइन्। ‘के मलाई सडकमा सुतेको छ भनेर हेप्न पाइन्छ, तिमीहरुभन्दा म के कम, मेरो घर छ, परिवार छ, म धनी परिवारकै मान्छे हुँ’, शरीरबाट पैसाको बिटो निकाल्दै उनी चर्किइन् ।

प्रहरी देखेपछि उनलाई डर लागेर होला त्यसपछि रुन थालिन‍् । भोलिदेखि सडकमा बस्दिन आज आफन्तकोमा जान्छु भनेर ढिपी गरे पनि उनलाई उद्धार गरेर लगियो । गौलाशा चोकमा ४९ वर्षका जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए ।

मजदूरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेन् । आफन्त र साथीभाइ रहेकाले आज यहाँ सुतेपनि भोलिदेखि नसुत्ने उनले अडान कसे। आश्रमका अभियन्ता र प्रहरी मिलेर उठाउन खोजेपछि उनले मानवीयता नभएको मान्छे भन्दै अङ्ग्रेजीमा गाली गरे।

उद्धारको क्रममा कोही मजदूरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ भएर सुतिरहेको पाइए । चावहिल नजिकिएको पुलमुनी धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ्याउमा भेटियो । राति १० बजे यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एकजना सुतिरहेका थिए । पर्खालको भित्तो मुस्किलले चढेर जानुपर्ने पुलमुनी सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्ने नै पर्‍यो ।

सोमबार राति ८ बजेदेखि १०:३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तवकि बेसहारा नभेटिए पनि दिनभर माग्ने पेशा अपनाएका, मजदूरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भएर सडकमा बसेका धेरै भेटिए ।

सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्याथी आवास केन्द्रमा लगिएको छ । यसअघि यसरी ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश सयोजक सुमन बर्तौलाले जानकारी दिए।

केही दिनअघि मात्रै थापाथली पुनमुनी वाग्मती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो । काठमाडौँमा बेवारिसे मान्छे न्यून र पेशेवर मगन्ते तथा मजदूरी गरेर मदिरा खाई सडकमा सुत्ने धेरै भेटिएको छ ।

यहाँ मङ्सिर २९ गते काठमाडौँ महानगर, मानवसेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएर बेसहाराको उद्धार गरी संरक्षण र मगन्तेहरुको व्यवस्थापन अभियान थालिएको छ ।

अस्थायी आवास केन्द्रमाप पुर्‍याउने छनोट गरी बेसहारालाई आश्रममा लगिने र अन्यलाई घरपरिवार पत्ता लगाएर सडकमा नआउने सर्तमा छाड्ने गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ ।

भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

त्यसलाई कार्यान्वयनको चरणमा अहिले उद्धार अभियान चलाइएको हो । तीन महिना उक्त अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा राति सडकमा सुत्नेहरुको उद्धार शुरु भएको र त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

काठमाडौँ महानगरले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते, र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र्र (स्क्रिनिङ् सेन्टर) बनाएको हो ।

यसअघि आश्रमकै पहलमा पहिलो पटक २०७४ साल चैत ५ गते गोरखा नगरपालिका र सोही चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो ।

विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय, बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनःमिलन गराउँदै आएको छ ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here