पर्यटनबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न सकेन्,भित्रिने मुद्राभन्दा बाहिरिने बढी

काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले पर्यटनबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।

होटल तथा एयरलाइन्स बुकिङको अनलाइन सर्च इन्जिन ‘एक्सेलट्रिप’को काठमाडौंमा उद्घाटन गर्दै गभर्नर नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढी भएको बताएका हुन् ।

गभर्नर नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने सशक्त माध्यम पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाउँदै अघि बढ्नुपर्ने बताउँदै नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन कठिन नहुने जाननकारी दिए ।

पर्यटकीय पूर्वाधारका साथै सेवा स्तरीकरणमा सबैको ध्यान जान नसकेको उनको तर्क छ । अहिले नेपालमा आउने विदेशी पर्यटकले वार्षिक रू. ७४ अर्ब खर्च गर्ने गरेको तर विदेश जाने नेपालीले रू. ९० अर्ब जति खर्च गर्ने गरेको बताए ।

‘पर्यटनबाट स्वदेश भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने मुद्रा बढी भएको अवस्था छ । आउने रकम बढाउने र जाने रकम कम गर्न आवश्यक छ,’ उनले भने ।

पछिल्लो तीन वर्षयता नेपालको आर्थिक वृद्धिदर इतिहासकै उच्चरहे पनि पर्यटन क्षेत्रको योगदान न्यून रहेको बताए । नेपालीले विभिन्न माध्यमबाट गर्ने खर्च नेपालकै बैंकमा आउने र शून्य कमिसनमा काम गर्ने भएकाले संस्थाको काम प्रभावकारी हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here