काठमाडौं, २३ पुस । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ ।
थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ ।
सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकका लागि थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित वस्तु राख्ने कार्य अगाडि बढाइएको छ ।
थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागतरुपमा प्रयोग गर्ने वस्तु राख्नका लागि १२ वटा थारु गाउँका वडघरलाई जिम्मा दिइएको थारु सङ्ग्रहालय तदर्थ समितिका सचिव भागीराम चौधरीले बताए ।
‘भ्रमण वर्ष शुरु हुनुअगावै सबै सामग्रीको व्यवस्था गरी सङ्ग्रहालयमा राख्छौँ’, उनले भने, ‘थारु समुदायको नयाँ वर्ष माघीदेखि सङ्ग्रहालयको समुद्घाटन गरी पर्यटकका लागि खुला गरिन्छ ।’
उनका अनुसार सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्रि, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिने छन् ।
यसैगरी, हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्की लगायतका सामानको जोहो गर्नका लागि थारु समुदायका अगुवालाई परिचालन गरिएको छ ।
लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत व्यवस्था गरिने छ । ‘सङ्ग्रहालयमा थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, बिच्छयालगायत राख्नका लागि थारु समुदायलाई दान गर्न भनेका छौँ’ चौधरीले भने, ‘दानमा आएका गहनासहित अपुग गहना वडा कार्यालयले खरिद गर्ने अश्वासन दिएको छ ।’
गहना र अन्य सामान सङ्कलनको कार्य शुरु गरिएको उनले बताए । थारु समुदायका महिलाले लगाउने लेहङ्गा, चोली र पुरुषले लगाउने धोती, कमिज, अंगच्छासमेत सङ्ग्रहालयमा राख्नका लागि व्यवस्था गरिएको छ ।
‘परम्परागत नृत्य तथा संस्कृति देखाउनका लागि अलग्गै परम्परागत शैलीको घर निर्माणका लागि सामग्री जुटाउन थालेका छौँ’, थारु सङ्ग्रहालय तदर्थ समितिका अध्यक्ष पल्टा चौधरी भने, ‘हराउँदै गएको थारु संस्कृति र सामग्री हेर्न नपाएकाका लागि सङ्ग्रहालयमा सामग्रीको जोहो गछौं ।’
‘यस कार्यले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ नै । थारु संस्कृति र चालचलन जोगाउनसमेत मद्दत पुग्छ’, वडाध्यक्ष बहादुर महराले भने, ‘थारु सङ्ग्रहालय सञ्चालनमा ल्याउनका लागि आवश्यक सामग्रीको जोहो गर्नका लागि थारु अगुवालाई खटाइसकेका छौं ।’
‘खरिद गरेर बनाउनु पर्ने सामग्रीका लागि सहयोग रकम उपलब्ध गराउन तत्पर छौँ’, उनले भने, ‘जिल्लामै पहिलो थारु सङ्ग्रहालय सञ्चालनमा ल्याउनका लागि कुनै कसर बाँकी राख्दैनौँ ।’
भल्का थारु समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ । भल्कामा रहेको कुण्डमा पानीमाथि उफ्रने गर्दछ । कुण्डको पानी गर्मीमा चिसो र चिसोमा गर्मी हुने गर्दछ । माघी सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । माघीका बेला कुण्डको पानीले नुहाएमा चर्मरोग निको हुने जनविश्वास छ ।
यहाँ स्वच्छ मनले भाकल गरेमा निःसन्तानले सन्तानको प्राप्ति गर्ने र मन पराएको युवतीसँग विवाह हुने स्थानीय बासिन्दाको भनाइ छ । (रासस)