नेपाल ‘भर्जिन ल्याण्ड’ हो, जुन क्षेत्रमा लगानी गरे पनि नाफा हुन्छः प्रधानमन्त्री

काठमाडौं, १५ चैत । सरकारले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल ‘भर्जिन ल्याण्ड’ भएको बताएका छन् ।

उनले विदेशी लगानीकर्ताहरु सामु ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । नेपालमा लगानी गरेर लगानीकर्ताले मनग्य प्रतिफल हात पार्न सक्ने बताउँदै उनले नेपालमा लगानी गर्न सुरक्षित वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘लगानीका हिसाबले नेपाल ‘भर्जिन ल्याण्ड’ हो, लगानी सम्मेलनका लागि हामीले ७७ वटा आयोजनाहरु प्रस्ताव गरेका छौं, जुन आयोजनामा लगानी गरे पनि लाभदायक हुन्छ ।’

पर्याप्त लगानी बिना देशको विकास सम्भव नभएको बताउँदै उनले नेपाली जनताको जीवनस्तर उकास्नको लागि ठूलो लगानी आवश्यक भएको बताए । त्यस्तै लगानीकर्ताको नाफा सुनिश्चिताको लागी सरकारले काम गरिरहेको उनले बताए ।

काठमाडौंको सोल्टी होटलमा भइरहेको लगानी सम्मेलनमा भाग लिन विभिन्न ४० देशका ६ सय लगानीकर्ता र उनीहरुका प्रतिनिधि आएका छन् । सम्मेलन भोलीसम्म चल्नेछ ।

सम्मेलनमा लागि सरकार र निजी क्षेत्रले ७७ वटा आयोजना ‘शो केश’को रुपमा तयार गरेका छन् ।

ती मध्ये सरकारको तर्फबाट प्रस्तावित ५० र निजी क्षेत्रको तर्फबाट २७ आयोजना छन् । सबै आयोजनाको अनुमानित लागत ३० खर्ब रुपैयाँ भन्दा बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here