रोजगारमैत्री वातावरण बनाउन सहकार्य गर्ने परिसंघको प्रतिवद्धता

काठमाडौं, ३ पुस । नेपाल उद्योग परिसंघले रोजगारमैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।

रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राययादवलाई बधाई तथा शुभकामना दिन मन्त्रालयमा गएको परिसंघ प्रतिनिधिमण्डलले मन्त्री यादवसँगको आपसी सहकार्यलाई गहन बनाउने प्रतिवद्धता जनाएको हो ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी यहाँका उद्योगमा ऊर्जा दक्षता विकास गर्ने बताए ।

जर्मन विकास सहयोग (जीआईजेड) सँग सहकार्यको सम्झौता भइसकेको जानकारी गराए । यसका लागि परिसंघमा छुट्टै ऊर्जा दक्षता डेस्क स्थापनासमेत गरिएको जानकारी दिए ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले यस्ता कार्यक्रमले ऊर्जाको खपत कम गरी वस्तु उत्पादनको लागत मात्र कम नभई विभिन्न ऊर्जाजन्य वस्तुको आयातमा समेत कमी आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जर्मन राजदूतावासका क्लाउडिया हेइपीले जर्मन संघीय सरकारले नेपाललाई ऊर्जा दक्षताको क्षेत्रमा मात्र नभएर अन्य विविध क्षेत्रमा सहयोग गर्न सक्ने बताउँदै यस विषयमा परिसंघसँग सघन छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवले उद्योगी र श्रमिकबीच सौहार्दपूर्ण वातावतरण भए आर्थिक क्षेत्रको उत्पादकत्व पनि बढ्ने र यसले मन्त्रालयको उद्देश्य पनि पुरा हुने बताए ।

सामाजिक सुरक्षा कार्यक्रममा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here