ड्राइभिङ लाइसेन्स बनाउन जाँदा कर्मचारीतन्त्र र एजेन्टबाट मैले जे भोगेँ !

– अरबिन्द साह

देशको नियम र कार्यालयहरुको नियमानुसार मर्यादित रुपमा काम गर्नु पर्छ भन्ने मान्यताको साथ मैले २०७६ मंसिर ४ गते लाइसेन्सको लागि फर्म भरेँ र मंसिर ८ गते फर्म प्रिन्ट सहित एकान्तकुना कार्यालयमा उपस्थित भए ।

कर्मचारीतन्त्रले शुन्य व्यवस्थापन गराएर कामकाजका लागि गएका जनताहरुलाई भेडारबाख्रा सरह उपस्थित गराई त्यसको फाईदा उठाउन सयौँ एजेन्टहरु मार्फत काम सजिलै गराउने आशामा हजारौँ ठगि गरिरहेको प्रस्ट देखिन्थ्यो ।

तर पनि सयौँको लाईनपछि बायोमेट्रीकको लागि आफ्नो पालो आउँदा कार्यालयको कम्प्युटर सिस्टममा म लगायत केहीको फर्मको रेकर्ड नै छैन भन्ने कुरा आयो । प्रमुखको घन्टौँसम्मको निर्णयको पर्खाईमा पुन: त्यही दिन फर्म भरियो र मंसिर १० मा नयाँ प्रिन्टेड फर्म सहित आउने निर्देशन सिस्टमबाट भयो ।

सोहि अनुसार मंसिर १० मा पुगियो । त्यहाँ पुग्दा पुन: म जस्तै अन्यहरुको त्यो दिन पनि सिस्टमले फर्म एसेप्ट नगर्ने भनेर जानकारी आयो । त्यही फर्म सहित मंसिर १३ मा आउन कार्यालय प्रमुखद्वारा जानकारी गराइयो ।

शुक्रबार मंसिर १३ मा पुन: लाइनमा बसी बायोमेट्रीक, मेडिकल र राजश्व तिर्दा पूरा दिन बित्यो र सोमबार मंसिर १६ मा ट्रायलको लागि आउने जानकारी पाएँ । सोमबार ट्रायलको लागि पुग्दा पुन: मिति सिफ्ट गरी बुधबार मंसिर १८ मा राखिएको थाहा पाएँ ।

तर, मंसिर १८ गते बुधबार पूर्व निर्धारित योजनाअनुसार एकदमै आवश्यक कामको लागि गाउँ जानु पर्ने भएकोले सो ट्रायलको मिति बिहिबार पछि सार्न त्यहाँ अनुरोध गर्दा त्यहाँका कर्मचारीले नीति नियमका पाठहरु सिकाउन थाल्नु भयो । अन्तत: मैले ट्रायल यत्तिकै छोडी गाउँ गएँ ।

गाउँ पुगेर आउने बितिकै पुन: मंसिर २० मा कार्यालय पुगेर बुझ्दा पहिलेको मिति (बुधबार) को १५ दिन पछि आउने बिहीबार या शुक्रबार आउनु भनेर जानकारी पाईयो । सोही अनुसार हिजो मिति २०७६ पुष ३ गते बिहिबार १६ औँ दिनमा उक्त कार्यालय पुगेँ ।

के गर्नु पर्छ भनेर जानकारी दिन त्यहाँ कोहि कर्मचारी नै थिएन । बिगबिगी थियो त मात्र एजेन्टको । ‘लौ, १००० रुपैयाँ दिनुस तपाईंको काम सजिलै गराइदिन्छु’ भन्ने मान्छे मात्रै भेटिन्थ्यो । रि-ट्रायलको डाटा प्रिन्ट गर्ने ठाउँ कता होला भनेर सोध्दा त्यहाँ उपस्थित सबैको जवाफ ‘खोई’ भन्ने हुन्थ्यो ।

धेरै समयको खोज पश्चात रि-ट्रायलको डाटा प्रिन्ट गर्ने ठाउँ ‘झ्याल ५’ हो भन्ने पत्ता लाग्यो र लाइनमा लागियो ।

त्यहाँ पैसा लिएर काम गराउने एजेन्टहरु लाइनमा नै नबसी काम गराउने रहेछन् । तर त्यसको बिरोध गर्न खोज्दा एजेन्टहरुको प्रतिकारात्मक स्वरले मेरो मधुरो स्वरको कुनै औचित्य नहुँदा अरु जस्तै चुप लागेर भई बसेँ ।

त्यस पश्चात राजश्व तिर्न फेरी झ्याल ८ तिर लागियो । त्यहाँको पनि लामो लाइन र एजेन्टहरुको कारण आफ्नो पालो ढिलै आयो तर राजश्व पनि तिर्न सकिएन । किनकी मेरो परीक्षाफल नै त्यस सिस्टममा अपडेट गरिएको रहेनछ ।

त्यसको लागि कोठा १८ मा जाने जानकारी पाएँ । त्यहाँ पुगेर बन्द ढोका अगाडी कुर्दै समय बिताईयो र कार्यालय समय सकिने बेलामा सोहि कार्यालयका कर्मचारीले फोन गरेर हाकिमको नंबरमा कल गरी सोध्दा भोलि १० बजे आउन भनियो ।

ड्राइभिङ लाइसेन्स कार्यालयमा यस्तो झमेला भोगेपछी मेरो मन मा उठेका केहि प्रश्नहरु:
१. के हाम्रो समय र आत्मसम्मानको कुनै महत्व नै छैन ?
२. के हामी जहिले नि चुप लागेर आफ्नो लाचारीपन देखाउने हो ?
३. यी कर्मचारीहरु विदेश तालिम लिने बहानामा फोटो खिच्न मात्र जान्छन् हो ?
४. के सरकारी संयन्त्रहरु एजेन्टहरुको गैर कानुनी कमाईको तलब मात्र खाने गर्छन् ?
५. मेरो १ हप्ता जतिको अफिस बिदा, काममा पर्न गएको अप्ठ्यारो र दु:ख को जिम्मेवारी यो कार्यलयले लिने कि नलिने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here