मेलबर्न स्टार्सको लगातार दोस्रो जित,सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं, ६ पुस । अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले लगातार दोस्रो जित हात पारेको छ।

मेलवर्नले आइतबार विहान भएको खेलमा होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गरेको हो। मेलवर्नले दिएको १६४ रनको लक्ष्य पछ्याएको होबर्ट १६ ओभरमा १ सय ११ रनमा अलआउट भयो।

होबर्टका लागि क्लिब रोसले अविजित ३२ र क्यालेब जेवलले २५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन्। बलिङतर्फ मेलबर्नका हरिस राउफले ५ विकेट लिए। म्यान अफ द म्याच घोषित भएका उनले ४ ओभरमा मात्र २७ रन खर्चिएर ५ विकेट लिएका थिए।

त्यस्तै, कप्तान ग्लेन म्याक्श्वेल र एडम जाम्पाले समान २–२ विकेट लिदा सन्दीपले भने १ विकेट लिए। नेपालका युवा लेग स्पिनर सन्दीपले ३ ओभरमा १८ रन खर्चिदा १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। मेलबर्नका लागि मार्कुस स्टोइनिसले अविजित ८१ रन बनाए। उनले ५४ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै नाइक म्याडिन्सनले ४० रन बनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here