‘वित्तीय अपराधको जोखिम बढ्यो, लेखापरीक्षकले ध्यान दिनुस्’

काठमाडौं, ६ मंसिर । अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्याहउनुपर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आइतवार आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड सम्बन्धी अन्तर्क्रियामा अर्थमन्त्री खतिवडाले वित्तीय अपारधका दायार बढिरहेको भन्दै त्यो नियन्त्रणको चुनौति रहेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे।

‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ,’ उनले भने, ‘कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन।‘

प्रविधिको उपलब्धता र नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि उनले बताए। ‘नयाँ वित्तीय उपकरणबारे लेखापरीक्षकहरु जानकार हुनुपर्छ,’ उनले भने ।

अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने बताए।

‘सरकार भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्,’ उनले भने।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुरमा घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट्स संसेथाको भूमिका महत्वपूर्ण हुने बताए।

लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए। ‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने ।

यसैगरी महालेखापरीक्षक टंकमणि शर्मा दंगालले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए ।

अहिले संसारभर नै निजी क्षेत्र ठगीमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रित रहेको देखिएको उल्लेख गरे। यसैगरी अन्तर्राष्ट्रिय तहमै सम्पत्ती शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने उल्लेख गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तासमेत रहेका सहसचिव प्रदीप कोइरालाले लेखापरीक्षकले गरेको लेखापरीक्षणमा अनुसन्धान गर्ने निकाय ढुक्क हुन सक्ने अवस्था नरहेको बताए।

उनले स्थानीय तहहरुमा भ्रष्टाचार बढिरहेको र त्यसमा धेरै विवरण लेखापरीक्षण भैसकेको कागजात पनि भेटिएको उल्लेख गरे ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसन कोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रड डिटेक्सन नाम कोर्सअन्तर्गत ४० जनालाई तालिम दिइसकेको पनि कार्यक्रममा जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here