राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि ११ दलको निवेदन

काठमाडौं, ६ मंसिर । ११ वटा राजनीतिक दलले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरे अनुसार अन्तिम दिन (मंसिर २७ गते देखि पुस ६ गते) सम्म ११ दलले निवेदन दिएका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निवेदन दिने राजनीतिक दलहरूमा नेपाली जनता दल,नेपाल कम्युनिष्ट पार्टी (ने क पा),इतिहासिक प्रजातान्त्रिक जनता पार्टी,नेपाल मजदुर किसान पार्टी,समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा,राष्ट्रिय जनता पार्टी नेपाल,नेपाली काँग्रेस,नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहेको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले बताए ।

नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।

आगामी माघ ९ गते हुने निर्वाचनको लागि आयोगले तालिका सार्वजनिक गरिसकेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो ।

सार्वजनिक कार्यतालिका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ । सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ ।

पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।

सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र २२ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।

मनोनयन भएका उम्मेदवारको नामावली भने २३ गते बिहान १० देखि दिउँसो १ बजेसम्म प्रकाशित गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ ।

२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । माघ ९ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको कार्यतालिका छ । मतदानपछि मतगणना सुरु गरिने आयोगले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादी पार्टीका १ र एक जना सरकारबाट मनोनित सदस्यको कार्यअवधि २१ फागुनमा सकिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here