सिमेन्टमा नयाँ मापदण्ड लागू नगर्न लेखा समितिको निर्देशन

काठमाडौं, ७ पुस । ओपीसी सिमेन्टमा पुरानै गुणस्तरको मात्रा कायम राख्न प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

गुणस्तर विभागले गत ८ असारमा सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै लेखा समितिले सिमेन्टको पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा र गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग सोमबार भएको छलफलपछि गुणस्तर मापकको निर्णय गरेको हो ।

विभागले सिमेन्टमा राखिने म्याग्नेसियम अक्साइड र इन्‍सोल्युब रेसिड्यु नामको पदार्थको मात्रा हेरफेर गर्ने निर्णय गरेको थियो । लेखा समितिका सभापति भरत शाहले विभागले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरे पनि लेखा समितिलाई नयाँ मापदण्ड कार्यान्वयनमा नआएको भन्दै झुक्याएको बताए ।

उद्योग सचिव यमकुमारी खतिवडाले भने अन्यथा नियत राखेर मापदण्ड परिवर्तन नगरेको स्पष्ट पारिन् । उनले यस विषयमा ३ वर्षदेखि प्राविधिक समितिसँग छलफल गरेर नयाँ मापदण्ड लागू गरिएको उनले दाबी गरिन् ।

परिषद्ले गत असार १८ गते ओपीसी सिमेन्ट उत्पादन गर्दा प्रयोग गरिने अघुलनशील पदार्थको मात्रा २ बाट बढाएर ४ पुर्‍याएको थियो । म्याग्नेसियम अक्साइडको मात्रा पनि बढाएर अधिकतम ६ प्रतिशत पुर्‍याएको थियो ।

तर, समितिले २०५५ जेठ ५ देखि प्रयोगमा आइरहेको अघुलनशील पदार्थको मात्रा २ र म्याग्नेसियम अक्साइडको मात्रा अधिकतम ५ प्रतिशत नै गर्न निर्देशन दिएको हो ।

सिमेन्ट उद्योगीले भने म्याग्नेसियम अक्साइडको मात्रा अधिकतम ६ प्रतिशत बढाउन सुझाव दिएका थिए । भारतमा ओपीसी सिमेन्ट उत्पादन गर्दा म्याग्नेसियमको मात्रा ६ प्रतिशत रहेको भन्दै सोही मात्रा कायम गर्न सिमेन्ट उत्पादकले आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here