३७ करोड लागतको गुण्डु ग्राण्ड शिलान्यास, पर्यटन व्यवसायी उत्साहित

काठमाडौं, ७ पुस । सूर्यविनायक नगरपालिका ७ घ्याम्पे डाँडा पाईलटबाबा नजिकै ३७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको द ग्राण्ड गुण्डु रिसोर्टको शिलन्यास गरिएको छ ।

सोमवार शिलान्यास पछि बोल्दै संघीय संसदका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भईरहदाँ सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेसंगै पर्यटन व्यवसायीहरु उत्साहित भएको बताए ।

नौ वटा हिमश्रंखलादेखि काठमाण्डौ उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा , रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वर लगायतका क्षेत्र नयाँ पर्यटकीय आकर्षक गन्तव्य बनेको उनको भनाई थियो ।

‘अबको दुईवर्षमा सबै सडक कालोपत्र गर्छौ, यहाँ आवश्यक खानेपानीदेखि अन्य पूर्वाधारहरु मेरै पहलमा पूर्णता गर्छु, अब व्यवसायीले ढुक्कसंग लगानी गर्नुस् ।’ बस्नेतले भने ।

नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेपछि करोडदेखि अरबसम्मको लगानीमा होटल व्यवसाय सुरु हुन थालेको छ ।

कार्यक्रममा पर्यटन व्यवसायी एवं द ग्राण्ड गुण्डुका अध्यक्ष बिज्ञान राईले १८ जना व्यवसायीको सामुहिक लगानीबाट रु. ३७ करोडको् लागतमा ५२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here