भ्रमण वर्षको मुखमै पर्यटन बोर्डमा रिक्त नेतृत्व

काठमाडौं, ९ पुस । नेपाल भ्रमण वर्ष २०२० शुरु हुन ठ्याक्कै ५ दिन बाँकि छ । भ्रमण वर्षको सफलतामा सबैभन्दा ठूलो भूमिका हुनुपर्ने संस्था नेपाल पर्यटन बोर्ड भने यति बेलै नेतृत्वविहिन हुन पुगेको छ ।

त्यसो त, यो परिस्थिति अकस्मात आएको भने होइन । नेपाल पर्यटन बोर्डका सिईओ दीपकराज जोशीको नियमित ४ वर्षे कार्यकाल पुरा भएको छ ।

उनले नियमित रुपमा अवकास पाएका छन् । नेपाल पर्यटन बोर्डका खुला प्रतिस्पर्धाबाट नयाँ सीइओ छान्ने प्रचलन रहेको छ ।

सोहीअनुसार १५ दिन अगाडी विज्ञापन गरिएको थियो । त्यस विज्ञापनमा १७ जनाको आवेदन परेको छ । मंगलबार विज्ञापनको अन्तिम अवधि थियो ।

अब यी आवेदनबाट शर्टलिस्ट गरी अन्तिम सिफारिस गर्ने र त्यहाबाट उपयुक्त पात्रलाई सीइओ बनाउने जिम्मेवारी संचालक समितिको हुन आउँछ ।

त्यसअगाडी भने बोर्डको संचालक अब ५ जना निर्देशकहरुको एक समूहले गर्नेछ । बोर्ड नियमावली अनुसार बोर्डमा निमित्ति सिइयोको स्थान रहेको छैन ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा सीइओ छान्ने टोलीले अब बढीमा १ महिना भित्र सीइओ छानेर दिने स्वयमः उपाध्याय बताउँछन् ।

उनका अनुसार त्यसका लागि बुधबार बाट नै आवेदकहरुबाट आएका प्रस्तावहरु हेर्ने क्रम शुरु हुने भएको छ ।

आवेदन दिने १७ जनामध्ये एक निवर्तमान सीइओ दीपकराज जोशी पनि छन् । उनलाई संचालक समितिले ४ महिना थप काम गर्न आग्रह गरेको थियो ।

उनले भने ४ महिना काम गरेर दोस्रो कार्यकालको मान्यता पाउनुको साटो खुला प्रतिस्पर्धामा आउने निर्णय लिएका छन् ।

यसले भ्रमण वर्षकै मुखमा भने बोर्डलाई नेतृत्वको अभाव खड्किने छ । किनकी सीइओ जोशीले भ्रमण वर्षको तयारीका क्रममा धेरै काम आफै खटिएर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here