‘राष्ट्रलाई फाइदा हुने देखिएपछि गोकर्ण रिसोर्टको लिज अवधि थपिएको हो’

काठमाडौं, १० पुस । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून अनुसार नै गोकर्ण रिसोर्टको सम्झौता अवधि थप गरिएको बताएका छन् ।

विहिबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै पोखरेलले नेपाल ट्रस्टलाई फाइदा हुने भएपछि नै गोकर्ण रिसोर्टको लिज अवधि थपिएको दाबी गरे ।

नेपाल ट्रस्टको अध्यक्ष समेत रहेका पोखरेलले नेपाल ट्रस्ट ऐन र नियमावली अनुसार नै ‘ट्रस्टको सिफारिसमा मन्त्रिपरिषदले लिजको म्याद थप्न सकिने व्यवस्था रहेको जानाकारी गराए ।

मन्त्री पोखरेलले यती होल्डिङ्सले २९ करोड लगानीमा ४८ वटा सुविधा सम्पन्न रुम सहितको ४ सय जना अट्ने सभा हल बनाउने निश्चित गरेपछि समय थप भएको पनि स्पष्ट पारेका छन् ।

उनले नेपाल ट्रस्ट मातहतको सार्वजनिक सम्पत्तिको वास्तविक लेखाजोखा गरी सरकारले छिट्टै श्वेत पत्र जारी गर्ने प्रतिवद्धता पनि जनाए । राष्ट्रिय सभाका सदस्यहरुले भने सरकारले विद्यमान कानून मिचेर सम्झौता गरेको भन्दै सरकारका मन्त्री आर्थिक लाभमा लागेको आरोप लगाए ।

ऐनमै नभएको ब्यवस्थामा टेकेर सम्झौता गरिएको सांसदहरुको आरोप छ । उनीहरुले दरबारमार्गस्थित नेपाल ट्रस्टको कार्यालयकै जग्गा पनि सरकारले गैरकानूनी रुपमा भाडामा लगाएको आरोप लगाए ।

२०५२ सालमा यती होल्डिङ्ससँग सरकारले ३० बर्षे सम्झौता गरेको थियो । तर सम्झौता सकिनु पाँच बर्ष अघि सस्तो दररेटमा म्याद थप गरिएपछि त्यसको देशब्यापी विरोध हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here