टोखा-छहरे सुरुङमार्ग अध्ययन गर्न प्राविधिक टोली काठमाडौंमा, यसरी हुँदैछ काम

काठमाडौं, ११ पुस । काठमाडौंलाई छोटो दुरीमा उत्तरी नाका रसुवागढी जोड्ने टोखा- छहरे सुरुङमार्गको अध्ययनका लागि नौजना चिनियाँ प्राविधिक नेपाल आएका छन्।

आगामी एक महिना यहीँ रहेर फिल्ड सर्भेको काम गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेको चिनियाँ टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुगेका छन् ।

उनीहरुले साइट हेर्ने र नापजाँच लगायतका कामहरू गर्नेछन्। त्यसपछि चीनमा नै गएर रिपोर्ट तयार पार्नेछन्। मार्च अन्तिम सातासम्ममा चीन सरकारलाई उनीहरूले रिपोर्ट बुझाउनेछन्। त्यसपछि चीनले औपचारिक रूपमा नेपाललाई उक्त रिपोर्ट दिनेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौंको टोखा देखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो ।

निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ, यस सुरुङमार्गको सवारी चाप के कति हुनसक्छ, कति जनता लाभान्वित हुनसक्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ ।

सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here