मुलुक बिजुलीमा आत्मनिर्भर, अर्को वर्षदेखि निर्यात गर्ने घोषणा !

काठमाडौं, ११ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताएका छन् ।

राजधानीमा नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको बताए । उनले अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गरे ।

मुलुकमा विसं १९६८ सालको फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुवात भएको थियो । त्यसको एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको जानकारी दिँदै चालु आर्थिक वर्षभित्रमा त्यसको क्षमता दुई हजार मेघावाट नाघ्ने बताए ।

यसमा निजी क्षेत्रको ठूलो योगदान रहेको भन्दै उनले भने, नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ, लोडसेडिङ अन्त्य मात्रै हाइन, बर्सातको समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्को वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ ।”

गएको बर्सातमा केही विद्युत् निर्यात गर्न सफल भएको जानकारीसमेत दिनुभयो । हिउँदयाममा केही आयात गर्नुपर्ने भए पनि बर्सातमा भने आयातभन्दा धेरै निर्यात हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

विद्युत् चुहावट हुनबाट रोक्नु अर्को चुनौती रहेको भन्दै त्यसलाई रोक्न निरन्तर लागिरहेको जानाकरी दिए । तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक रु सात अर्ब बढी थप आम्दानी गरेको उनको भनाइ छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here