बिना तयारी बोल्दा पाइलैपिच्छे चिप्लदैछन् योगेश

काठमाडौं, १३ पुस । १५ साउन २०७६ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेश भट्टराईले १९ साउनमै संसदीय समितिमा निमन्त्रणा पाए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुगेका उनले मंसिर भित्र जसरी पनि निजगढ विमानस्थलको शिलान्यास हुने घोषणा गरे । २४ वर्षसम्म चर्चामा रहेको यो विमानस्थलको शिलान्यास जसरी पनि गर्ने उनको जोड थियो ।

अर्को दिन नेपाल एयरलाइन्स पुगेका उनले सोही प्रतिवद्धता दोहोर्याए । तर, उनको घोषणा भाषणमा मात्र सिमित भयो । हुन त विविध अवरोधले सकिएन भन्ने तर्कगरी पन्छिन सकिने भएपनि मन्त्रीले तयारी बीना बोलेको प्रतिक्रिया मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाटै बाहिरिसकेको छ ।

पदभार ग्रहण गर्दागर्दै उनले अर्को घोषणा गरेका थिए, नेपाल एयरलाइन्सलाई आहा नेपाल एयरलाइन्स बनाउछु । त्यसको संकेत केही दिनमै देखिनेछ । उनले भनेजस्तो नेपाल एयरलाइन्सको सुधारको संकेत अहिलेसम्म एक प्रतिशत पनि देखिदैन ।

किनकी उनी अहिलेको व्यवस्थापनसँग असन्तुष्ट थिए । पटक पटक उनले काम नगर्ने कर्मचारीले जागिर छाडिदिनुस भन्दै आग्रह समेत गर्न भ्याए ।

तर, नेपाल एयरलाइन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका शक्तिशाली कार्यकारी अध्यक्ष मदन खरेलका अगाडी मन्त्रीको केही चलेन । योगेशकै भनाईमा आहा नेपाल एयरलाइन्सको घोषणा नेपालीले कहिले देख्न पाउने हुन पत्तो छैन ।

भ्रमण वर्षको तयारी थाल्दै गर्दा मूल आयोजक समितिको चौथो बैठकबाटै मन्त्री भट्टराईले घोषणा गरे, भ्रमण वर्षको उद्घाटनमा ४० मुलुकका पर्यटन मन्त्री आउँदैछन् ।

तर, भ्रमण वर्षको उद्घाटन हुने दिन नजिकिएको छ, दुई तीन वटा मुलुकबाहेक अन्यबाट पर्यटन मन्त्रीले भाग लिने सम्भावना शुन्य छ । उनको घोषणा केवल भाषणमा मात्र सिमित हुने देखिएको छ ।

भ्रमण वर्षकै दौरान २० औं हजार पर्यटन व्यवसायीलाई टुडिखेलमा ल्याएर सथप खुवाउछु, त्यसमा प्रधानमन्त्री पनि उपस्थित हुनुहुनेछ भन्दै उनले व्यवसायीकै अगाडी प्रतिवद्धता जनाएका थिए । उनको यो प्रतिवद्धता कार्यान्वयनमा अगाडी नै बढ्न सकेन ।

यी प्रतिनिधि उदाहरणहरु मात्र हुन, जुन आशलाग्दा युवा नेताले बोलेर भाषणमा सिमित राखेका प्रतिवद्धता । अझ आलोकाँचो निर्णय गरेर चिप्लिएका उदाहरणको त लामै सूचि बनिसकेको छ ।

पशुपतिनाथ मन्दिरमा हुने आरतीमा राष्ट्रिय गान बजाउने निर्णय होस या जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छूट ।

उनी कतै पनि सफल हुन सकेका छैन । मन्त्रीको असफलता जाँच्ने समय त भएको छैन होला ।

तर, उनले प्रक्रिएको बाटो भने सही नभएको टिप्पणी धेरैबाट भइरहेको छ । किनकी उनी हतारमा बोल्ने तर, बोलेको प्रतिवद्धता पुरा नगर्दा चिप्लरहेका छन् ।

यसबाट आशलाग्दा नेताप्रतिको जनताको भरोसा टुट्ने हो की भन्ने चिन्ता सर्वत्र देखिन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here