प्रधानमन्त्री ओली कलैया अस्पतालमा, राहत र उद्दारमा समस्या हुन नदिन निर्देशन

काठमाडौं, १८ चैत । आँधी प्रभावित क्षेत्रको निरीक्षणमा बारा गएका प्रधानमन्त्री केपी शर्मा ओली पीडितहरुको हालखबर बुझ्न कलैयास्थित अस्पताल पुगेका छन् ।

झापाको पूर्वनिर्धारित एक कार्यक्रम रद्द गरेर उनी आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राहत र उद्दारमा कुनै समस्या हुन नदिन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाबारे जानकारी दिएका थिए । गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाई अपिल समेत गरेको उनको सचिवालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here