पुनर्निर्माण सन्तोषजनकः राष्ट्रिय सरोकार समिति

काठमाडौं, २१ पुस । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

सोमबारको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी कामको समयतालिका र स्पष्ट मापदण्ड बनाएर काम गर्न निर्देशन दिएको छ ।

समिति सभापति दिलकुमारी रावल थापाले समितिले दिएका निर्देशनहरु कार्यान्वन भएकोमा प्राधिकरणको प्रशंसा गर्दै बाँकी गुनासोको सुनुवाई छिटो गर्न निर्देशन दिइन ।

एघार महिनाअघि समितिले निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा पुनर्निर्माणलाई प्राथमिकतामा दिएर काम गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धीहरु बारे संसदहरुलाई जानकारी गराएका थिए ।

सांसद सुरेन्द्रराज पाण्डेले पुनर्निर्माण भएका विद्यालयहरु लोभलाग्दा भएको बताए । कागजमा भिन्न नभएका तर व्यवहारमा छुट्टै बसिरहेका भूकम्प प्रभावितको समस्या समाधान गर्न आग्रह पनि गरे ।

सांसदहरुले भारतीय एक्जिम बैंकको ऋण सहयोग, गोरखा दरबार पुनर्निर्माण, भूमिहीन तथा सुकुम्बासीहरुको निजी आवास पुनर्निर्माण लगायतका जिज्ञासा राखेका थिए ।

ज्ञवालीले निजी आवासमा ८६ प्रतिशत प्रगति भएको उल्लेख गर्दै पौष महिनाभित्र गुनासोहरुको सम्बोधन हुने जानकारी गराए ।

धरहराको चौथो तलाको काम सम्पन्न भएको उल्लेख गर्दै उनले हरेक महिना दुई तलाका दरले थपिंदै जाने पनि बताए । रानीपोखरीको काम पनि अगाडि बढिरहेको र २०७७ बैशाखमा काम सम्पन्न गर्नेगरी अघि बढेको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here