८ सय ४१ भूकम्पपीडित थपिए, गुनासो सम्बोधनमा चित्त नबुझे अझै विकल्प

काठमाडौं, २३ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सम्बोधनलाई तीव्र बनाएको छ ।

कार्यकारी समितिको बुधबार बसेको बैठकले थप २१ हजार ६ सय गुनासोको नजिता निकालेको हो । निर्णयअनुसार ८ सय ४१ पुनर्निर्माण लाभग्राही कायम भएका छन् ।

८ सय ३६ प्रवलीकरण लाभग्राही भएका छन् । १८ हजार २ सय जना गुनासोकर्तालाई गैरलाभग्राही कायम गर्ने निर्णय भएको छ ।

प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरे भन्छन्, ‘फिल्डबाट प्राप्त तथ्यांकलाई प्राधिकरणले तोकेका मापदण्डका आधारमा विश्लेषण गरी पुनर्निर्माण लाभग्राही, प्रवलीकरण लाभग्राही अथवा गैरलाभग्राही कायम गर्ने गरिएको छ ।’

यसअघि तीनपटक बसेको कार्यकारी समिति बैठकले १ लाख १३ हजार गुनासो सम्बोधन गरी नजिता निकालेको थियो । त्यसमा ११ हजार ५ सय ९९ गुनासोकर्ता पुनर्निर्माण लाभग्राही र ५ हजार ६ सय ८५ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएका थिए ।

दोस्रो चरणको छुट तथा पुनः जाँच सर्भेक्षणअन्तर्गत १ लाख ८९ हजार गुनासो संकलन गरिएको थियो । त्यसमध्ये बाँकी ५४ हजार गुनासोको इन्जिनियरहरुले विश्लेषण गर्ने काम जारी छ । विश्लेषण सकिएपछि ती गुनासा पनि प्राधिकरणले सम्बोधन गर्नेछ । गुनासो विश्लेषणका लागि ५० इन्जिनियर परिचालन गरिएको छ।

दोस्रो चरणको छुट तथा पुनःजाँचअघि ३ लाख ६ हजार ८ सय ५८ गुनासो दर्ता भएका थिए । ती सबैको पुनरावलोकन भइसकेको छ । सह–प्रवक्ता घिमिरेका अनुसार प्राधिकरणले गरेको यो निर्णयमाथि चित्त नबुझे गुनासोकर्ता सामु अझै विकल्प छन् ।

‘प्राधिकरणको निर्णय उपर चित्त नबुझ्ने लाभग्राहीले पुनरावेदन समितिमा निवेदन दिन पाउने नीतिगत व्यवस्था छ,’ घिमिरेले भने ।

यसरी प्राधिकरणको कार्यकारी समितिले गरेका निर्णयमाथि चित्त नबुझेर पुनरावेदन समितिमा निवेदन दिएका १५ सय २० उजुरीको पुनरावेदन समितिले फैसला गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here