नारायणघाट-मुग्लिङ्ग सडक पूर्ण रुपमा खुल्ला

काठमाडौं, २४ पुस । दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणघाट-मुग्लिङ्ग सडक पूर्ण रुपमा खुल्ला भएको छ ।

पहिरो नियन्त्रणको कार्यको लागि प्रत्येक दिन दिउँसो चारघण्टाको लागि बन्द हुँदै आएको सडक विहिवारदेखि पूर्ण रुपमा खुल्ल भएको नारायणघाट-मुग्लिङ्ग सडक आयोजनाले जनाएको छ ।

पहिरो नियन्त्रणको कार्य गर्नको लागि मंसिर २७ गते देखि दैनिक बिहान ११:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म बन्द गरिएपनि मौसस अनुकुलले गर्दा समयमै काम नसकिएको जनाईएको छ ।

बाँकि रहेको सामान्य कार्यहरु आगामी दिनमा थोरै थोरै समयको अन्तरालमा सवारी साधनलाई रोक्दै ट्राफिक ब्यवस्थापन मिलाउँदै गरिने सूचनामा भनिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोग्रस्त क्षेत्र भनेर ३२ ठाउँ तोकिएको छ ।

त्यसमध्ये २४ स्थानमा पहिरो रोकथामको काम भइसकेको हो । यसअघि सडक स्तरोन्नति ठेक्काबाट १२ र पहिरो रोकथाम ठेक्काबाट १२ स्थानमा पहिरो रोकथामको काम भएको आयोजनाले जनाएको छ ।

सडकखण्डअन्तर्गत दासढुङ्गा, खानी र मौरीका तीन वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने जलवीरेको पुल ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकी १४ पुलको पनि निर्माणको प्रक्रिया अघि बढेको आयोजनाले जनाएको छ ।

यो सडकखण्ड नेपालको सबैभन्दा व्यस्त सडक खण्डमध्ये एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here