यसरी गरिएको थियो दिलीपको निर्ममतापूर्वक हत्या

धनुषा, २७ पुस । अवैध बालुवा, गिट्टी उत्खननको विरोध गर्ने युवा दिलीपकुमार महतोको निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाको रुप दिन टिप्परले किचिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

मिथिला नगरपालिकाको औरही खोलामा भइरहेको बालुवा उत्खननको विरोध गरेको कारण शुक्रबार बिहान दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा बोलाइ सुनियोजितरुपमा कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

सुनियोजितरुपमा हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिप्परले किचिएको जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

हत्या आरोपमा पक्राउ परेकाहरु शनिवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।

अवैध बालुवा, गिट्टी उत्खनन गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर सञ्चालकलाई करोबार गर्न समस्या भइरहेको थियो । त्यसको समाधानका लागि योजनाअनुसार रोशनमार्फत दिलिपलाई बिहानै ४ बजे खोलामा बोलाएर आरोपितहरुले कुटपिट गरी सिकिस्त बनाएको, फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेको र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको प्रहरीको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here