यी हुन् सार्वजनिक बसमा युवतीमाथि अश्लिल हर्कत गर्ने युवा

काठमाडौं, २९ पुस । सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाललाई प्रहरीले सोमवार सार्वजनिक गरेको हो ।

सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियो अपलोड गरेको प्रहरीले जनाएको छ ।

रुचालका चार इमेल आइडी र तीन इन्स्टाग्राम एकाउन्ट रहेको र उनले सामाजिक सञ्जालका विभिन्न ग्रुपमा राख्ने गरेको खुलेको छ । उनले पैसाका लागि यस्तो गर्ने गरेको बताएका छन् । तर कसरी पैसा प्राप्त हुन्थ्यो भन्ने खुलाएका छैनन् ।

प्लसटू सम्मको अध्ययन गरेका उनले तीन वर्ष पहिले काठमाडौँको बानेश्वर क्षेत्रमा मसला डेलिभरीको काम गर्ने गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका रुचालले हस्तमैथुन गरी अघिल्लो सिटमा बसेकी युवतीको कपालमा स्खलन गरेका थिए ।

रुचाल आफैँले त्याे भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले उनी सवार बा २ ख ९३२६ नम्बरको बसलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

उक्त भिडियो भाइरल भएपछि रुचाल भारत भागेको प्रहरीले बताएको छ । भारतको दिल्ली पुगेर उनले तीन महिन मोमो फ्याक्ट्रीमा काम गरेका थिए । त्यसपछि दिल्लीबाट कश्मीर पुगेका उनी त्यहाँ ४ महिना बसेका थिए ।

करिब दुई महिना अगाडी नेपाल आएर सार्की आफ्नै घरमा बसिरहेका थिए । उनी आएको सूचना प्राप्त भएसँगै उनलाई चितवनबाट पक्राउ गरिएको हो ।

मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ । कसूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here