नेप्सेमा सूचीकृत कम्पनीको संख्या वृद्धि, डिम्याट खाता खोल्ने १६ लाख नाघे

काठमाडौं, २ माघ । सेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख नाघेको छ ।

नेपाल धितोपत्र बोर्डले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्नसम्ममा सञ्चालनमा रहेको हितग्राही (डिम्याट) खाताको संख्या १६ लाख ७ हजार ६ सय पाँच पुगेको छ ।

सेयर बजार आधुनिकीकरण हुँदै गर्दा यसमा संलग्न हुनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभर आफ्नो सेवा विस्तार गर्दै मेरो सेयर एप्लिकेसनमार्फत पनि लगानीकर्ताहरूको सेयरमा सहज पहुँच स्थापना गरेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले देशभरि धितोपत्र बजार विस्तार गर्ने र जनसहभागिता बढाउनका लागि एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गर्ने नीति लिएको थियो ।

यही नीतिलाई सार्थक बनाउन कतिपय निक्षेप सदस्यले निःशुल्क डिम्याट खाता खोल्नुका साथै एकवर्षको वार्षिक शुल्कसमेत निःशुल्क गरेका छन् । जसले पनि डिम्याट खातावालाको संख्या बढेको जनाईएको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक सेयर कारोबार थालेको थियो । १ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ ।

नेप्सेमा सूचीकृत कम्पनीको संख्यामा वृद्धि

नेप्सेमा सूचीकृत कम्पनीको संख्यामा वृद्धि आएको छ । चालु आ.व. को प्रथम छ महिनामा उक्त संख्या २१२ पुगेको हो । सूचीकृत धितोपत्रको आपूर्तिमा पनि करिब २१ प्रतिशतले वृद्धि भएको छ ।

३२.५१ अर्ब बराबरको धितोपत्रको कारोबार

समीक्षा अवधिमा कुल रु. ३२.५१ अर्ब बराबरको धितोपत्रको कारोबार भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा २.८ प्रतिशतले कम हो । यस अवधिमा १०० दिन कारोबार हुँदा औसत दैनिक कारोबार रकम रु. ३२.५ करोड रहेको छ ।

धितोपत्र बजारको कुल बजार पूँजीकरणमा वृद्धि

चालु आ.व.को पुष मसान्तमा धितोपत्र बजारको कुल बजार पूँजीकरणमा वृद्धि भएको छ । यस अवधिमा उक्त पूँजीकरण रु. १६१० अर्ब रहेको छ यस्तै फ्लोट बजार पूँजीकरणमा पनि वृद्धि आएको छ । यस अवधिमा उक्त फ्लोट बजार पूँजीकरण रु. ५३४ अर्ब रहेको छ ।

पौष मसान्तमा नेप्से सूचकांकमा १.६ प्रतिशतको वृद्धि आई उक्त सूचकांक १२६३.३८ विन्दु कायम भएको छ भने नेप्से फ्लोट सूचकांकमा पनि २.९ प्रतिशतको वृद्धि आई ८९.३५ विन्दु कायम भएको छ । गत आ.व.को पुष मसान्तमा दुवै सूचकांक क्रमशः ११५४.१२ र ८५.९८ बिन्दु कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here